• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

‘नहाय–खाय’ गरी शुरु भयो छठ पर्व

बुधबार खरना‘नहाय
‘नहाय–खाय’ गरी शुरु भयो छठ पर्व

राजविराज, ७ कार्तिक । मधेशका जिल्लाहरुमा अपार श्रद्धा भक्तिकासाथ मनाईने छठ पर्व मङ्गलवार ‘नहाय–खाय’बाट शुभारम्भ भएको छ ।

छठ पर्वमा व्रत बस्ने ब्रतालुहरुले मङ्गलवार नुहाएर चोखो अर्थात अरबा–अरबाइन खाएर औपचारिक रुपमा छठ व्रतको शुभारम्भ गरेका हुन् । खासगरी मिथिलाञ्चलमा विशेष महत्व एवम् श्रद्धाका साथ मनाईने यो पर्व धार्मिक विधि अनुसार बुधवार खरना गरिने छ । विहीवार बेलुका अस्ताउँदो सुर्यलाई अर्घ दिई शुक्रवार विहान उदाउँदो सुर्यलाई ‘ओम सूर्यायै नमः, ओम भास्करयै नमः को मन्त्रोचारण गरी व्रतालुले सूर्यदेवको आराधना गरी अर्घ दिएर  यो पर्व समापन हुनेछ ।सूर्यको आराधनाबाट सुख समृद्धि र सन्तान प्राप्ति एंव चर्मरोग निको हुने जनविश्वास रहेको छ ।

यस पर्वलाई सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको पर्वमा सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको कारण मनाउनेहरुको संख्यामा दिनप्रति दिन बढ्दै गएको छ । मिथिलाञ्चलसहित केही सिमित क्षेत्रहरुमा मनाईदैआएको यो पर्व विस्तारित हुँदै पहाडका राजधानी काठमाण्डौका साथै पहाडी जिल्लाहरुमा समेत मनाउन थालिएको छ ।

यस पर्वमा गहँुको तथा चामलको पीठोबाट ठकुवा, भुसवा, पेरुकिया, खजुरिया आदि परिकारहरु बनाईन्छ । यस अतिरिक्त सुथनी, कसार, केरा, उखु, नरिवल, स्याउ, सुन्तलासहित विभिन्न किसिमका वनस्पति समेत पूजामा राखिने गरिन्छ ।छठ पर्वको तयारीसप्तरीको कोशी व्यारेज, सदरमुकाम राजविराजको भगवती पोखरी, कल्टु दास पोखरी, तुरुन्ती पोखरी, वैष्णवी काली मन्दिरलगायतका पोखरीहरुमा घाट निर्माण कार्य थालिएको छ ।

यसैगरी जिल्लाको ग्रामिण भेगमा समेत पोखरी तथा तलावहरुमा समेत सरसफाईका साथै घाट निर्माण कार्य भईरहेको हाम्रा स्थानीय सम्वाददाताहरुले जानकारी दिएका छन् ।

बजारमा बढ्यो चहल–पहल

छठ पर्वकालागि पूजा सामग्री खरिद गर्न सदरमुकाम राजविराज सहित स्थानीय बजारहरुमा सर्वसाधारणको भींडभाड बढेको छ ।पूजामा प्रयोग हुने केरा, नरिवल, उखु, सख्खर, कोनिया, ढाकी सहितका सामग्रीहरु किन्नकालागि विहानैदेखि अत्यधिक भींड रहने गरेको स्थानीय व्यापारीहरुले जानकारी दिएका छन् ।विगतका वर्षहरुमा आन्दोलनका कारण प्रभावित हुने गरेको छठ पर्वमा यो वर्ष अत्यधिक उल्लासमय वातावरण देखिएको छ । बजारहरुमा किनमेल गर्नेहरुको चहल–पहलले गर्दा बजारमा व्यापार समेत उत्साहजनक रुपमा बृद्धि भएको व्यवसासीहरुको भनाई छ ।