राजविराज, ६ कार्तिक । पर्सा जिल्ला घर भई सप्तरी सदरमुकाम राजविराजमा रहेर लामो समयसम्म सेवा पुर्याउँदैआएका डा. सत्यदेव गिरीको कार्तिक २ गते भएको निधनप्रति जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले दुःख व्यक्त गरेको छ ।
उनले प्रेस विज्ञप्ति जारी गर्दै उनले डा. गिरीको असामयिक निधनको खबरले आफुलाई मर्माहत तुल्याएको जनाएका छन् । पूर्व सोभियत संघमा चिकित्सा शास्त्र अध्ययन गरी सरकारी एवम् गैरसरकारी सेवा क्षेत्र सप्तरीलाई बनाएको भन्दै गोइतद्वारा प्रेषित विज्ञप्तिमा अगाडि भनिएको छ ‘निर्दलीय पञ्चायती कालरात्रीमा जोखिम मोलेर पनि कार्लमाक्र्सको द्वन्द्वात्मक भौतिकवाद पढाउनु भएको हुँदा म वहाँको ऋणी छु ।’
मोर्चाका अध्यक्ष गोइतले डा. गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्प परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । डा. गिरी राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत रहँदै निमित मेडिकल सुपरिन्टेन्डेन्ट भई सेवा निवृत भएका थिए । सेवा निवृत हुँदा पनि उनले वीरगञ्ज नगई राजविराजमै निजी क्लिनिक सञ्चालन गरेर सेवा पुर्याउँदै आएका थिए ।
हाड जोनी तथा सर्जन विशेषज्ञ रहेका उनी पछिल्लो समय विरामी परेका थिए । परिवारजनले वीरगञ्जमै बस्न आग्रह गर्दा पनि कर्मथलो अर्थात सप्तरीवासीको जनजनमा भिजिसकेका कारण राजविराजै बस्न रुचाउँथे । हृदयघातबाट पीडित डा. गिरीको वीरगञ्ज स्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनले गरिब एवम् विपन्न समुदायका विरामीलाई एकदमै शुल्कमा तथा कतिपयलाई निःशुल्कै समेत सेवा पुर्याउँदैआएका थिए ।