बृजमान तामाङ/बिरेन्द्र बजार २ कर्तिक । विगत चार महिनादेखि ठप्प रहेको सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारका खानेपानी हालसम्म सञ्चालनमा आउन सकेको छैन ।
गत असार १७ गते अबिरल बर्षासंगै आएको बाढीले पाइप बगाएर लगेपछि ठप्प रहेको खानेपानी सम्बन्धित निकायको उदासिनताको कारण सञ्चालनमा आउन नसकेको हो । खानेपानी सेवा सुचारु नहँुदा हजारौ उपभोक्ताहरुले पानीको चरम समस्या खेप्न बाध्य भएको स्थानियहरुले बताएका छन् ।
बिरेन्द्र बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मर्मत सम्भारको नाममा उपभोक्तासँग मोटो रकम असुली गरे पनि बिग्रिएको संरचना मर्मतमा चासो नदिएको उपभोक्ता ललित मेहताले बताए । उनले खानेपानी योजनामा करौडौ बजेट निकासा भए पनि आर्थिक चलखेलका कारण दिगो संरचना नबन्दा समस्या आउने गरेको जाकारी गराए ।
सरकारी बजेट दुरुपयोग गर्नेहरुमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन तथा धारा संचालनमा ल्याउन स्थानियबासीले माँग गरेका छन् । पानी खाने आशले ठूलो खर्च गरेर धारा जडान गरे पनि सम्बन्धित निकायको लापर्वाहीले गर्दा लामो समयदेखि पानी उपभोग गर्नबाट बन्चित हुनुपरेको उनीहरुले गुनासो गरेका छन् । धारा बिग्रिएको बारे जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा पटक–पटक जानकारी गराउँदा समेत सुनवाई नगरेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
यसबारे बिरेन्द्र बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भत्किएको संरचना मर्मत कार्य जारी रहेकोले दुईचार दिन भित्र खानेपानी सञ्चालनमा आउने बताएका छन् । स्मरण रहोस यस अघि पनि उपभोक्ता समितीका अध्यक्ष गोपाल सिंह थापाले उपभोक्तासंग लाखौ रकम असुली गरेको समाचार सार्वजनिक भएको थियो ।