राजविराज, २ कात्तिक । कृष्ण औँसीका दिन विहीवार धनधान्यकी देवी लक्ष्मीको पूजा–आजा गरेर दिपावली पर्व भव्यताकासाथ मनाइँदैछ । आ–आफ्ना घर वरिपरि सरसफाइ गरी बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा घरमा धन्यधान्यको प्राप्ति हुने जनविश्वास रहेको छ । घरघरमा दीयो बाल्नुका साथै साँझतिर मिथिलाञ्चलमा हुक्कापाती खेल्ने गरिन्छ । घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटी तथा पूजास्थलसम्म लक्ष्मीको पाइला अङ्कित समेत गरिन्छ । 
दिपावलीकै अवसरमा घरहरुमा रंगोली, अरिपन आदी बनाएर माता लक्ष्मीलाई स्वागत गर्ने परम्परा रहेको छ । लक्ष्मीपूजाका दिन हिन्दुधर्मावलम्बीहरुले लक्ष्मीको तस्विर तथा माटाको मूर्ती बनाएर पूजाआजा गरिन्छ । दिपावलीकै अवसरमा विभिन्न स्थानहरुमा भव्य सजावटका साथ मूर्ती बनाउनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ ।
लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति आओस् भन्ने कामनाका साथ नाङ्लो ठटाउँदै प्रवेश गर्ने गरिन्छ । दिपावलीको रातीलाई सुखरात्रि पनि भन्ने गरिन्छ । मधेशमा यस विषयमा ‘खाय पिबए ल’ सुकराती, डङ्गबैल’ खढसुप’ भन्ने भनाइ(कहवी) लोकप्रिय छ । लक्ष्मी पूजा गरिसकेपछि पहाडी जिल्लाहरुमा देउसी, भैलो खेल्ने परम्परा रहेको छ ।
लक्ष्मी पूजाका दिन गाईको समेत पूजा गर्ने परम्परा रहेको छ । मधेशमा भने लक्ष्मीपूजाका अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजन गरेर रातभरी जाग्राम बस्ने गरिन्छ । दिपावलीको दोस्रो दिन शुक्रवार गोवद्र्धन पूजा तथा शनिवार पहाडका जिल्लाहरुमा भाइटिका तथा मिथिलाञ्चलमा ‘भरदुतिया, भैया दूज एवम् चित्रगुप्त पूजा गरिँदैछ । चार महिनादेखि बन्द खानेपानी सुचारु हुन सकेन ।