राजविराज, ३१ असोज । अमेरिकाको चिकागोमा रहेका तराईवासी नेपालीहरुद्वारा पठाइएको सहयोग रकम मंगलबार राजविराजमा आयोजित एक कार्यक्रमका विच बाढीका कारण ज्यान गुमाएका परिवारलाई वितरण गरियो ।
माहेश्वरी सेवा समिति एवंम् माहेश्वरी युवा मञ्चको समन्वयमा बाढीबाट ज्यान गुमाएका पाँच जना मृतक परिवारलाई ११ हजार रुपैयाँका दरले उपलब्ध गराईएको हो ।
कार्यक्रममा डाक्नेश्वरी नगरपालिका ८ का नथुनी राम, तिलाठी कोइलाडी गाउँपालिका ४ का कमलु सदा, बेल्ही चपेना गाउँपालिका ४ का कमल मुखिया, राजविराज नगरपालिका ६ का राजकुमार सदा र राजविराज नगरपालिका १५ देउरी भरुवाका डोमी यादवका परिवारलाई नगद सहयोग उपलब्ध गराईएको छ ।
माहेश्वरी सेवा समितिका अध्यक्ष सुरेश रुङ्गटाको अध्यक्षतामा आयोजित कार्यक्रममा उक्त रकम नागरीक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, माहेश्वरी सेवा समितिका महासचिव बैजु जोशी, माहेश्वरी युवा मञ्चका सदस्य गोपाल कावरा, मधुसुदन कावरा समेतले रकम पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।