राजविराज, ३१ असोज । नेपाल रेडक्रस सोसाइटी सप्तरीको आयोजनमा मंगलवार बालविवाह र दाइजो प्रथा सम्बन्धी पत्रकारहरुकालागि कार्यशाला गोष्ठी आयोजना गरियो ।
नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा आयोजित गोष्ठीमा वरिष्ठ पत्रकार कुन्दन अर्यालले बालबालिका, दाइजो प्रथा र बालविवाह ठूलो चुनौतीको रुपमा देखिएकोले पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनुपर्नेमा जोड दिए । वर्तमान अवस्थामा सञ्चारमाध्यममा कुरिती तथा कुप्रथाको विषयमा फिचर न्यूजहरु आउनुपर्नेमा उनले जोड दिए ।
किशोरकिशोरीहरुको विषयलाई सञ्चारमाध्यममा उठान गरेर सामाजिक रुपान्तरणकालागि सशक्त रुपमा अगाडि बढ्न वरिष्ठ पत्रकार अर्यालले आवश्यकता औंल्याए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य महाशाखाका प्रमसख विपुल न्यौपाने, नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष बैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गालगायतले मन्तव्य व्यक्त गरे ।