राजविराज, २९ असोज । राजविराज स्थित पाराडाइज कलेजद्वारा आइतवार आयोजित एक समारोहका बिच शहिद परिवार, कलेजका संस्थापक, कर्मचारी एवम् पूर्व विद्यार्थीलाई सम्मान गरिएको छ ।
कलेज प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका शहिद सञ्जन मेहताका बुवा लक्ष्मण मेहतालाई कलेजको तर्फबाट नगद एवम् दोसल्लासहित सम्मान गरिएको छ । मलेठमा गत फागुन २३ गते भएको घटनामा प्रहरीको गोलीबाट मृत्यु भएका सञ्जन पाराडाइज कलेजमा अध्ययनरत थिए ।
सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी श्यामसुन्दर यादव नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष, मैथिली साहित्य परिषद् राजविराजका सचिव, न्यूज टुडे दैनिकको सम्पादक, नेपाल टेलिभिजनका सम्वाददातासहित विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट योगदान पुर्याउँदैआएको भन्दै कलेजले प्रशंसा पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी बिन्दु यादव नेपाल पत्रकार महासंघको कार्यसमिति सदस्यका साथै विभिन्न सञ्चारमाध्यमसँग आवद्ध रही संस्थाको गरिमा बढाउने कार्य गरेको भन्दै सम्मान गरिएको छ । यस्तै विद्यालयका पूर्व विद्यार्थी सुजिता कुमारीले पाराडाइज कलेजमा अध्ययन गरी स्नातकोत्तरसम्म अध्ययन गरी उदाहरणीय कार्य गर्दैआएकोले सम्मान गरिएको कलेजका संस्थापक सह–प्रा.डा. शिवनारायण यादवले जानकारी दिएका छन् । यसैगरी कलेजमा अध्ययनरत राष्ट्रिय खेलाडी मनोज कुमार यादवलाई समेत प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यसैगरी कलेजका कर्मचारी जयनारायण यादव हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिका वडा नम्वर–८ को वडा अध्यक्षमा निर्वाचित भई संस्थाको गौरव बढाउने कार्य भएको भन्दै कार्यकाल सफलताको कामनासहित सम्मान गरिएको छ । सोही कार्यक्रममा लामो समयसम्म सेवा गरेको भन्दै सञ्चालक समिति, अध्यापक, कर्मचारीसमेतलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा कलेजका अध्यक्ष गोवद्र्धन साह, प्राध्यापकहरु रामनारायण यादव, प्रा. शिवनारायण यादव, उमेश कुमार यादव, डिल्लीराज खतिवडालगायतलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा कलेजमा अध्ययनरत छात्र–छात्राले गीत, नृत्य एवम् चुटकिला प्रस्तुत गरे भने कलेजका अध्यापक उपेन्द्र ठाकुरले शुभकामनासहित कविता वाचन गरे । कार्यक्रम सञ्चालन पुरुषोत्तम राय र पिंकी यादवले गरे ।
