राजविराज, २८ असोज । आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै आह्वान गरिएको म्यादी प्रहरी भर्नाकालागि आवेदन दिन युवाहरु रातभरी लाइनमा बस्ने गरेका छन् ।
प्रहरी कार्यालय सप्तरीले असोज २४ गतेदेखि असोज ३० गतेसम्मकालागि दरखास्त आह्वान गरेकोमा युवाहरुको व्यापक आकर्षण देखिएको हो । बढ्दो बेरोजगारीबाट पीडित रहँदै आएका मधेसी युवाहरु यतिबेला चर्को घाम, भोक प्यास र राती खुल्ला आकाशमुनी बसेर भएपनि फारम भर्न कठिनाई उठाउनु पर्ने बाध्यता रहेको युवा पप्पु कुमार यादवले बताए । आफु बिहान ६ बजे २ दिनदेखि लाइन लागेपनि फारम दर्ता गराउन नसकिएकोमा शुक्रबार राती ९ बजेखिनै सडकमै रात बिताएपछि शनिबार बल्ल ४ बजेतिर फारम बुझाउन पाएको दुखेसो सुनाए । उनले भने जिल्ला प्रहरीमा फारम भर्ने ठाउँ राखिएकोमा आवेदकहरु अत्यधिक भएकोले सम्हाल्नै गाह्रो भएपछि राजविराजस्थित संघीय प्रहरी इकाई कार्यालयमा सारिएको छ, तर त्यहाँपनि नसकिने अवस्था छ ।
शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यले प्रहरी प्रधान कार्यालयले देशैभरी सूचना जारी गरेको हो । गृहमन्त्रालयले देशभरी ९८ हजार २ सय ६८ म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । म्यादी प्रहरीकोलागि सप्तरी, सिरहा, सुनसरी र उदयपुरबाट दरखास्त फाराम भर्नेहरुको भिंड लागेको छ । विहानैदेखि म्यादी प्रहरीमा भर्नाकालागि दरखास्त दिन युवाहरुको घुइँचो लाग्ने गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मधेशका जिल्लामा बढ्दो वेरोजगारी र गरिबीले पीडित बन्दै आएका युवाहरु आर्थिक रुपले केही सहयोग हुने, सिपको हिसाबले केही सिक्ने पाउने र म्यादी प्रहरीकै रुपमा केहि दिन देशलाई सेवा गर्न पाउने भन्दै उत्साहका साथ म्यादी भर्नाका लागि आवेदन दिएको आवेदन दिन आएका युवा रामकुमार शर्माले बताए । उनले व्यर्थै बस्नु भन्दा दुई–चार पैसा आर्जन हुने उद्देश्यले विहानै पाँचै बजेदेखि साँझसम्म लाइनमा बस्दा पनि अत्यधिक भींडका कारण पालो नआएको बताए ।
विगतको भर्नामा महिला सहभागिता न्यून रहेकोमा हाल महिला सहभागिता अत्यधिक देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार असोज २४ गतेदेखि म्यादी प्रहरी भर्नाकालागि आवेदन खुल्ला गरिएकोमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रतिदिन १ हजारदेखि २ हजारसम्म युवाहरुले आवेदन दिईरहेको छ । शनिबार दिउँसोसम्ममा १० हजार जनाले म्यादी प्रहरी भर्नाका लागि आवेदन दर्ता गराईसकेको प्रहरी श्रोतले जनाएको छ ।