• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

सप्तरीको शैक्षिक समृद्धिमा उकालो चढ्दै नरेन्द्र मेमोरियल जनता मावि

सप्तरीको शैक्षिक समृद्धिमा उकालो चढ्दै नरेन्द्र मेमोरियल जनता मावि
नन्दलाल आचार्य

–नन्दलाल आचार्य

१. पृष्ठभूमि
हामी अभिभावकहरू बालबच्चाकै सामु बेलामौकामा सामाजिक, शारीरिक र पारिवारिक रूपमा अपाच्य कर्म गर्दै हिँड्छौँ । ठूलाबडा हुनुको अहङ्कार देखाउन पछि पदैनौँ । अर्कातिर बालबालिकाले थोरै बाटो बिराए पनि तिलको पहाड बनाएर उनीहरू माथि खनिन्छौँ । ‘हजुरले गरेकै कार्य त मैले गरेको हो नि’ भनेर उनीहरूले जवाफ फर्काए ‘मुखाले र अनुशासनहिन’ भन्ने दर्जा दिँदै शारीरिक÷मानसिक सजाय दिनतिर लाग्छौँ । बेलाबेलामा उनीहरूकै कमजोरी कोट्याई, कोट्याई तनाव दिइरहन्छौँ । यस किसिमको निरुत्साही व्यवहार झेल्दै जानुपर्दा उनीहरू नैतिक चरित्र निर्माणको मार्गबाट विचलित हुन्छन् र समाजका लागि दुष्ट पात्र बन्न सक्छन् ।
धर्म वा इतिहासका विविध प्रसङ्गसँग जोडेर उसले यसो गरेको थियो, त्यसले त्यसो गरेको थियो भनेर अरूजस्तै बनाउन खोज्छौँ । प्रत्येक बालबालिका आ–आफ्नै खाले मौलिक प्रतिभा बोकेर जन्मिएका हुन्छन् भन्ने कुरा भुल्छौँ । ंबालबालिकाको मौलिक सोच र समझको कदर नगरी आफ्नो सोच र समझमा जबरजस्त ढाल्न खोज्दा निस्कने घातक परिणामको कल्पना समेत नगरी लिंडेढिपीमा अडिग रहन्छौँ । अझ कडा दण्ड–सजायको सन्त्रास फैलाएर उनीहरूको सन्तुलित मनस्थिति पनि असन्तुलित बनाइदिन्छौँ । अतः आजका बालबालिकाका निम्ति समस्या हामी अग्रजहरू नै हौँ र समाधान पनि हामीहरू नै हौँ । यसै सन्दर्भमा सप्तरीको शैक्षिक समृद्धिमा उकालो चढ्दै गरेको नरेन्द्र मेमोरियल जनता मावि, बोरिया–४, सप्तरीको सेरोफेरोमा रहेर उक्त विद्यालयको शैक्षिक परिपाटी र व्यवस्थाका राम्रा पक्षहरू अरूका लागि अनुकरणीय हुन सक्छ भनेर यो आलेख तयार पारिएको हो ।

सप्तरी जिल्लाको राजविराज नगरपालिकाको छेवैमा अवस्थित बोरिया गाउँमा अवस्थित २०३६ सालमा स्थापित नरेन्द्र मेमोरियल जनता माविमा साधरण र प्राविधिक धारको पढाइ हुन्छ । यत्तिखेर यादव, मण्डल, चौधरी, मेहताजस्ता समुदायका बालबच्चा अध्ययन गर्ने त्यस विद्यालयका प्रधानाध्यापक पदमा खिलानाथ गौतम कार्यरत छन् । २०७२ भदौ १५ गते भवेन्द्र प्रसाद यादवले उमेर हदका कारण प्रअ पदबाट अवकास पाएपछि सह–प्रधानाध्यापक रूपमा कार्यरत माशि (द्वितीय) शिक्षक खिलानाथ गौतले प्रअ पद समालेका हुन् ।
गौतमको कथनानुसार प्रअले बाटो नभुले भुल्ने शिक्षकहरू पनि स्वतः टुङ्गामा आउँछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमेश यादव विद्यालयको शैक्षिक सुधारको पहिलो जस प्रअ गौतमलाई दिन्छन् र दोस्रो जस आफू लिन्छन् । नेतृत्व वर्ग जोसिलो, आँटिलो र कर्तव्यनिष्ट भए ९० प्रतिशत अव्यवस्था स्वतः व्यवस्थित हुन्छ । अरू १० प्रतिशत मात्र व्यवस्थित गर्न बाँकी रहन्छ । विद्यालयले कुशल प्रशासक र इमान्दार शिक्षकका रुपमा प्रअ गौतमलाई पाएको उनको कथन छ ।

२. विद्यालय चर्चाको कारण
राजविराज क्षेत्रमा ह्यापील्याण्ड मावि, दुर्गा मावि, लिटिल फ्लावर मावि, ग्रीन मावि, सिर्जना मावि, जानकी मावि, पिसजोन मावि, ज्ञानज्योति मावि र शिव इन्टरनेश्नल मावि विशेष चर्चामा आइरहने संस्थागत विद्यालय हुन् । यसै परिप्रेक्ष्यमा अतिरिक्त कार्यकलाप होस् या अन्य शैक्षिक नतिजाका कुरामा सधै संस्थागत विद्यालयहरूले सामुदायिक विद्यालयहरूलाई चार हात परै पार्ने गर्थे । यस्तो अवस्थामा नरेन्द्र मेमोरियल जनता माविले प्रअ गौतम पाउना साथ निबन्ध र वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेर सबैलाई चकित तुल्याइदियो । यसको रहस्य खोतल्दै जाँदा उचित दिशाानिर्देश गरिएकाले विद्याथीहरूमा शैक्षिक जागरण आएको आशयका साथ जिल्ला स्तरीय निबन्ध र वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने कक्षा १० का छात्र विकास मण्डलले भने– “नबुझेका कुरा सरहरूबाट बुझ्न पाइन्छ । प्रतियोगिताको विषयवस्तु तयारी गर्न प्रअबाट नै उचित पृष्ठपोषण प्राप्त भएका कारणले नै सफलता प्राप्त भएको हो ।” खेलकुद र नृत्य विधामा भने पब्लिक बिन्देश्वरी माविले पनि बेलाबेलामा अरूलाई उछिन्दै आएको पाइन्छ ।

३. शिक्षकलाई जिम्मेवारी
प्रअ गौतमको भनाइलाई आधार बनाउँदा विद्यालय सपार्ने काइदा शिक्षकको कार्यविभाजन, कार्यानव्ययन, अनुगमन र पृष्ठपोषण हो । यसका अतिरिक्त अभिभावकहरूको सक्रियता र विद्यालयको शैक्षिक वातावरण निर्माण हो । त्यस पछि आउने कुरो हो– विद्यार्थीहरुको शैक्षिक तत्परता । यसै सन्दर्भमा श्री नरेन्द्र मेमोरियल जनता मावि, बोरिया–४, सप्तरीको शिक्षक कार्यविभाजन देहायबमोजिम छ–

(क) वर्ग शिक्षकको कार्य विभाजन– (क) कक्षा १ –अञ्जु साह÷(ख) कक्षा २ –रीता यादव÷(ग) कक्षा ३ –निर्जला अधिकारी÷(घ) कक्षा ४ –कृष्ण प्रसाद साह÷(ङ) कक्षा ५ –रामजतन साह÷(च) कक्षा ६ –रामविलास यादव÷(छ) कक्षा ७ –संगिता यादव÷(ज) कक्षा ८ –भोगीलाल साह÷(झ) कक्षा ९ – भोगीलाल यादव÷(ञ) कक्षा ९ प्राविधिक तर्फ – भुषण रुञ्जन÷(ञ) कक्षा १० – खिलानाथ गौतम
(ख) अतिरिक्त कार्यकलाप– (अ) प्रावि तर्फ – ममता यादव÷(आ) निमावि तर्फ –अरूण कुमार यादव÷(इ) मावि तर्फ भोगेन्द्र यादव
(ग) पुस्तकालय एवं पत्र–पत्रिकाको सुरक्षा र व्यवस्थापन फाँट– विन्देश्वर यादव
(घ) विद्यार्थी अनुशासन र नियमितता रेखदेख फाँट – उमेश यादव
(ङ) प्रार्थजना÷खेलकुद÷सरसफाई रेखदेख फाँट – लक्षेश्वर पण्डित
(च) भोज÷निमन्त्रणा तथा सामाजिक उपस्थिति एवं समुदायसँगको सम्बन्ध फाँट – राजकुमार मण्डल
(छ) खेलकुद सामग्री व्यवस्थापन फाँट – रविन्द्र प्रसाद यादव
(ज) प्रोभिजनल कक्षा तोक्ने र कक्षा सञ्चालनको जिम्मेवारी – रमानन्द यादव
(झ) छात्र परामर्श तथा सल्लाह सेवा – भोगीलाल साह र रमानन्द यादव
(ञ) छात्रा परामर्श तथा सल्लाह सेवा – निर्जला अधिकारी र किरण झा
(ट) कक्षा १–३ का बालबालिकाको अवस्था रेखदेख, सुझाव एवं फूलबारी संरक्षण – किरण झा

४. पुरस्कार र सम्मानको विवरण
(क) जागरिलो शिक्षक पुरस्कार – प्रत्येक त्रैमासिक, अद्र्धवार्षिक र वार्षिक परीक्षा पिच्छे सर्वप्रथम कापी निरीक्षणको कार्य फत्ते गर्ने १ जना शिक्षकलाई नगद रू. १,०००।– सहित प्रमाणपत्र ।
(ख) समर्पित शिक्षक पुरस्कार – प्रत्येक त्रैमासिक, अद्र्धवार्षिक र वार्षिक परीक्षा पिच्छे सर्वप्रथम प्रोग्रेस रिपोर्ट तयार गरी प्रअ समक्ष पेस गर्ने १ जना शिक्षकलाई नगद रू. १,०००।– सहित प्रमाणपत्र ।
(ग) नरेन्द्र स्मृति तथा अभिभावक दिवसको अवसरमा प्रत्येक शैक्षिक सत्रको भदौ ३० गते प्रोभिजनल कक्षा बढी लिने एक पुरुष शिक्षक र एक महिला शिक्षक गरी दुई जनालाई दोसल्लासहित प्रमाणपत्र ।
(घ) नरेन्द्र स्मृति तथा अभिभावक दिवसको अवसरमा प्रत्येक शैक्षिक सत्रको भदौ ३० गते वर्षभरि सबैभन्दा बढी उपस्थित हुने एक पुरुष शिक्षक र एक महिला शिक्षक गरी दुई जनालाई दोसल्लासहित प्रमाणपत्र ।
(ङ) अनुशासित विद्यार्थी पुरस्कार –नरेन्द्र स्मृति तथा अभिभावक दिवसको दिन वर्षभरि अनुशासित व्यवहार गर्ने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई पुरस्कारसहित प्रमाणपत्र ।
(च) नियमित विद्यार्थी पुरस्कार –नरेन्द्र स्मृति तथा अभिभावक दिवसको दिन वर्षभरि सबैभन्दा बढी उपस्थित हुने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई पुरस्कारसहित प्रमाणपत्र ।
(छ) शिव–सुनिल छात्रवृति पुरस्कार – प्रत्येक शैक्षिक सत्रमा विद्यालयबाट एसएलसी÷माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई डा. सुनिलकुमार झाले खडा गरेको १ लाख अक्षयकोषको व्याजबाट आएको नगद रकम दामासाहीले वितरण गर्नुका साथै प्रमाणपत्र ।
(ज) जहानदेवी छात्रवृति स्मृति पुरस्कार – प्रत्येक शैक्षिक सत्रमा विद्यालयबाट १०+२ परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई डा. सुनिलकुमार झाले आफ्नी मुमाको नामबाट खडा गरेको १ लाख अक्षयकोषको व्याजबाट आएको नगद रकम दामासाहीले वितरण गर्नुका साथै प्रमाणपत्र ।
(झ) मंंगलादेवी स्मृति पुरस्कार – प्रत्येक शैक्षिक सत्रमा कक्षा ६–१० मा पढ्ने सर्वोत्कृष्ट अङ्क ल्याउने एक दलित छात्र र एक दलित छात्रा गरी दुई जना विद्यार्थीलाई प्रा. अमरकान्त झाद्वारा दामासाहीले रू. २,०००।– नगदका साथै प्रमाणपत्र ।
(छ) मगनु झा स्मृति पुरस्कार – प्रत्येक शैक्षिक सत्रमा विद्यालयबाट एसएलसी÷माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई चाँदीको पदकसहित प्रमाणपत्र ।
(ज) प्रत्येक राष्ट्रिय पर्वको भोलिपल्ट प्रार्थना घण्टीमै सामुहिकरूपमा सोही दिवसका बारेमा सटिक उत्तरात्मक प्रश्न सोधी सर्वप्रथम उत्तर भन्ने तीन जनालाई सोही स्थानमा तत्कालै कापी र डटपेनले पुरस्कृत गर्ने ।
(झ) शैक्षिक उन्नययमा अनुकरणीय कार्य गर्ने शिक्षकलाई विद्यालय प्रशासनको निर्णयले प्रत्येक महिनाको अन्तिम दिन टिफिनपछि हुने स्टाफ मिटिङमा सम्मानित गर्ने ।

५. सहयोगी हातहरू
नेपाल सरकारको नियमित अनुदान र व्यवस्थाका अतिरिक्त अन्य संस्थाहरूले पनि विद्यालयको भौतिक व्यवस्थापन र शैक्षिक विकासमा सहयोग गरेका छन् ।
(क) सेभ द सप्तरी – खेल सामग्रीहरू, कार्पेटको व्यवस्था र विद्यालय भवन मर्मत गरी सहयोग गरेको ।
(ख) एन्सेट नेपाल, सप्तरी – अतिरिक्त कार्यकलापमा पुरस्कारको व्यवस्था गर्दै आएको ।
(ग) स्वच्छ र प्रगतिशील समाज, नेपाल, सप्तरी – विद्यालय परिसरमा बृक्षारोपणका लागि धार्मिक बृक्ष रुद्राक्ष र अशोकका बिरुवा प्रदान ।
(घ) दलित जनजागरण सेवा समिति, सप्तरी – कक्षा ८ मा अध्ययनरत् दलित विद्यार्थीलाई लक्षित गरी दुई महिना निःशुल्क कोचिङ कक्षा सञ्चालन । त्यस प्रयोजनका लागि कोचिङ शिक्षकलाई पारिश्रमिक स्वरूप रु १० हजार उपलब्ध गराएको ।

६. निष्कर्ष
विद्यालय वा घरपरिवारको नीति निर्माणमा बालबालिकालाई सहभागिता गराउनु पर्दछ । उनीहरूको व्यक्तित्वलाई महत्त्व दिएर व्यवहार गर्नुपर्छ । विद्यालय वा घरपरिवारमा बाहेक अन्यत्र पनि बालमैत्री व्यवहार गर्नुपर्छ । शिक्षकहरूले प्रयोग गर्ने शिक्षण विधि र प्रविधि बालकेन्द्रित हुनु जरूरी हुन्छ । बालबालिकाको मामलामा उनीहरू सम्मिलित समूहले गरेको निर्णय मात्रै अन्तिम र मान्य हुनुपर्दछ । उनीहरूले पाउने पुरस्कार वा सुविधा कटौतीका आधारहरू पूर्व परिभाषित र स्पष्ट हुनुपर्छ । गल्ती स्वीकारेको अवस्थामा मात्र सुविधा कटौती गर्नुपर्छ । स्पष्टीकरण दिने मौका दिन चुक्नुहुन्न । सुध्रने अवसर नदिई उनीहरूले पाउने सुविधा कटौती गर्नुहुन्न ।
आजका शिक्षकहरूले देखिएका समस्याभित्रै समाधानको बिज रहने सोच राख्नुपर्छ । गलत कदम देखिएमा त्यसको जरोसम्म पुगी दीर्घकालीन समाधानको बाटो पक्रनुपर्छ । गाली र छडीले अल्पकालीन समाधान देला तर दिगो समाधानका लागि मायालु बोली र समुचित पृष्ठपोषणको जरुरत पर्दछ । बालबालिकाको भावनानुकुल आवश्यकता र समस्या पहिचान हुनुपर्छ । कुनै पनि कुराको छनोटको पहिलो हक बालबालिकालाई नै दिनुपर्दछ । बालबालिकाको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न पछि पर्नुहुन्न । उनीहरूलाई घरपरिवारको महत्त्वपूर्ण सदस्य ठान्नुपर्छ । उनीहरूका कुरा ध्यानपूर्वक सुनी आवश्यकतानुसार उचित प्रतिक्रिया व्यक्त गर्नुपर्छ ।
शिक्षकहरूले धर्म निरपेक्ष नैतिक मूल्य स्थापित गर्न जोड दिनुपर्छ । आफू अनुकरणीय व्यक्ति बनेर अरूबाट सकारात्मक व्यवहारको अपेक्षा गर्ने गर्नुपर्छ । पूरातन जड अनुशासन नभई युगसापेक्ष प्रजातान्त्रिक अनुशासनको पालना गर्ने र गराउने काममा होसियार रहनुपर्छ । भेटिएका समस्या समाधानमा व्यवहारिक बाटो अबलम्बन गर्नुपर्छ । बेलाबेलामा सामुहिक छलफलद्वारा बालबालिकको स्वभाव÷व्यवहारको समीक्षा गर्ने र उत्प्रेरणा दिनु आवश्यक हुन्छ । देखिएका कमजोर पक्ष सुधार गर्न मर्यादित तवरले खबरदारी गर्न पनि कुनै कसर बाँकी राख्नुहुन्न । आवश्यकता परे आफू स्वयम् उनीहरूकै हितैषी मित्रको भूमिकामा समेत देखा पर्न सक्नुपर्छ ।
यस अर्थमा नरेन्द्र मेमोरियल जनता मावि, बोरिया–४, सप्तरीमा केही कमजोर पक्ष देखिए पनि आर्थिक विपन्नताका बाबजुत विद्यालयले बसाएको संस्कार र केही अग्रगामी कदम भने सबैका लागि सधैँका लागि अनुकरणीय छ । कार्यविभाजनअनुसार शिक्षकले शैक्षिक कार्य सम्पादन गर्नु, आर्थिक पारदर्शिपन अङ्गाल्नु, माथिल्ला शैक्षिक निकायहरूलाई विद्यालयको अध्ययन, अवलोकन र पृष्ठपोषण गर्न आमन्त्रित गर्नु, राम्रो काम गर्ने शिक्षकले पुरस्कृत र सम्मानित हुने अवसर पाउनु, समुदायको पूर्ण सहयोग र सद्भाव रहनु, मर्यादित र जेहन्दार विद्यार्थीहरूले बेलामौकामा पुरस्कृत हुने अवसर पाउनु, आर्थिकरूपले विपन्न भए पनि जेहन्दार भएमा समुदायद्वारा प्रदान हुने विविध पुरस्कार प्राप्त गरी अध्ययनलाई अगाडि बढाउन मद्दत पुग्नु जस्ता कार्य अरू विद्यालय र समुदायले सिक्नुपर्ने कुरा हुन् ।
साथै प्रधानाध्यापक पढाउन कक्षामा विरलै प्रवेश गर्छन् भन्ने आमजनगुनासो विपरीत प्रअ गौतमले माध्यमिक तहमा चार घण्टी दैनिक शिक्षण गरेबाट एक खुट्किलो उक्लिएको अनुभूत हुन्छ । विव्यस अध्यक्ष प्रमेश यादवले प्रतिद्वन्द्वी उम्मेद्वार सदानन्द यादवलगायतका अभिभावकहरू विद्यालयको शैक्षिक वातावरणमा सहयोगी बन्दै आएको र कुनै किसिमको अशैक्षिक अवस्था नरहेको कुरा सङ्केत गरेबाट पनि समुदाय विद्यालयको जिम्मेवार सुरक्षाकर्मी सावित भएको देखिन्छ । अतः नरेन्द्र मेमोरियल जनता मावि, बोरिया–४, सप्तरीका राम्रा पक्षलाई हाम्रा बनाउन सके सरकारी विद्यालयप्रति हेरिने आमजनताको दृष्टि पक्कै बदलिनेमा दुई मत रहन्न भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।