
–नन्दलाल आचार्य
१. पृष्ठभूमि
हामी अभिभावकहरू बालबच्चाकै सामु बेलामौकामा सामाजिक, शारीरिक र पारिवारिक रूपमा अपाच्य कर्म गर्दै हिँड्छौँ । ठूलाबडा हुनुको अहङ्कार देखाउन पछि पदैनौँ । अर्कातिर बालबालिकाले थोरै बाटो बिराए पनि तिलको पहाड बनाएर उनीहरू माथि खनिन्छौँ । ‘हजुरले गरेकै कार्य त मैले गरेको हो नि’ भनेर उनीहरूले जवाफ फर्काए ‘मुखाले र अनुशासनहिन’ भन्ने दर्जा दिँदै शारीरिक÷मानसिक सजाय दिनतिर लाग्छौँ । बेलाबेलामा उनीहरूकै कमजोरी कोट्याई, कोट्याई तनाव दिइरहन्छौँ । यस किसिमको निरुत्साही व्यवहार झेल्दै जानुपर्दा उनीहरू नैतिक चरित्र निर्माणको मार्गबाट विचलित हुन्छन् र समाजका लागि दुष्ट पात्र बन्न सक्छन् ।
धर्म वा इतिहासका विविध प्रसङ्गसँग जोडेर उसले यसो गरेको थियो, त्यसले त्यसो गरेको थियो भनेर अरूजस्तै बनाउन खोज्छौँ । प्रत्येक बालबालिका आ–आफ्नै खाले मौलिक प्रतिभा बोकेर जन्मिएका हुन्छन् भन्ने कुरा भुल्छौँ । ंबालबालिकाको मौलिक सोच र समझको कदर नगरी आफ्नो सोच र समझमा जबरजस्त ढाल्न खोज्दा निस्कने घातक परिणामको कल्पना समेत नगरी लिंडेढिपीमा अडिग रहन्छौँ । अझ कडा दण्ड–सजायको सन्त्रास फैलाएर उनीहरूको सन्तुलित मनस्थिति पनि असन्तुलित बनाइदिन्छौँ । अतः आजका बालबालिकाका निम्ति समस्या हामी अग्रजहरू नै हौँ र समाधान पनि हामीहरू नै हौँ । यसै सन्दर्भमा सप्तरीको शैक्षिक समृद्धिमा उकालो चढ्दै गरेको नरेन्द्र मेमोरियल जनता मावि, बोरिया–४, सप्तरीको सेरोफेरोमा रहेर उक्त विद्यालयको शैक्षिक परिपाटी र व्यवस्थाका राम्रा पक्षहरू अरूका लागि अनुकरणीय हुन सक्छ भनेर यो आलेख तयार पारिएको हो ।
सप्तरी जिल्लाको राजविराज नगरपालिकाको छेवैमा अवस्थित बोरिया गाउँमा अवस्थित २०३६ सालमा स्थापित नरेन्द्र मेमोरियल जनता माविमा साधरण र प्राविधिक धारको पढाइ हुन्छ । यत्तिखेर यादव, मण्डल, चौधरी, मेहताजस्ता समुदायका बालबच्चा अध्ययन गर्ने त्यस विद्यालयका प्रधानाध्यापक पदमा खिलानाथ गौतम कार्यरत छन् । २०७२ भदौ १५ गते भवेन्द्र प्रसाद यादवले उमेर हदका कारण प्रअ पदबाट अवकास पाएपछि सह–प्रधानाध्यापक रूपमा कार्यरत माशि (द्वितीय) शिक्षक खिलानाथ गौतले प्रअ पद समालेका हुन् ।
गौतमको कथनानुसार प्रअले बाटो नभुले भुल्ने शिक्षकहरू पनि स्वतः टुङ्गामा आउँछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमेश यादव विद्यालयको शैक्षिक सुधारको पहिलो जस प्रअ गौतमलाई दिन्छन् र दोस्रो जस आफू लिन्छन् । नेतृत्व वर्ग जोसिलो, आँटिलो र कर्तव्यनिष्ट भए ९० प्रतिशत अव्यवस्था स्वतः व्यवस्थित हुन्छ । अरू १० प्रतिशत मात्र व्यवस्थित गर्न बाँकी रहन्छ । विद्यालयले कुशल प्रशासक र इमान्दार शिक्षकका रुपमा प्रअ गौतमलाई पाएको उनको कथन छ ।
२. विद्यालय चर्चाको कारण
राजविराज क्षेत्रमा ह्यापील्याण्ड मावि, दुर्गा मावि, लिटिल फ्लावर मावि, ग्रीन मावि, सिर्जना मावि, जानकी मावि, पिसजोन मावि, ज्ञानज्योति मावि र शिव इन्टरनेश्नल मावि विशेष चर्चामा आइरहने संस्थागत विद्यालय हुन् । यसै परिप्रेक्ष्यमा अतिरिक्त कार्यकलाप होस् या अन्य शैक्षिक नतिजाका कुरामा सधै संस्थागत विद्यालयहरूले सामुदायिक विद्यालयहरूलाई चार हात परै पार्ने गर्थे । यस्तो अवस्थामा नरेन्द्र मेमोरियल जनता माविले प्रअ गौतम पाउना साथ निबन्ध र वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेर सबैलाई चकित तुल्याइदियो । यसको रहस्य खोतल्दै जाँदा उचित दिशाानिर्देश गरिएकाले विद्याथीहरूमा शैक्षिक जागरण आएको आशयका साथ जिल्ला स्तरीय निबन्ध र वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने कक्षा १० का छात्र विकास मण्डलले भने– “नबुझेका कुरा सरहरूबाट बुझ्न पाइन्छ । प्रतियोगिताको विषयवस्तु तयारी गर्न प्रअबाट नै उचित पृष्ठपोषण प्राप्त भएका कारणले नै सफलता प्राप्त भएको हो ।” खेलकुद र नृत्य विधामा भने पब्लिक बिन्देश्वरी माविले पनि बेलाबेलामा अरूलाई उछिन्दै आएको पाइन्छ ।
३. शिक्षकलाई जिम्मेवारी
प्रअ गौतमको भनाइलाई आधार बनाउँदा विद्यालय सपार्ने काइदा शिक्षकको कार्यविभाजन, कार्यानव्ययन, अनुगमन र पृष्ठपोषण हो । यसका अतिरिक्त अभिभावकहरूको सक्रियता र विद्यालयको शैक्षिक वातावरण निर्माण हो । त्यस पछि आउने कुरो हो– विद्यार्थीहरुको शैक्षिक तत्परता । यसै सन्दर्भमा श्री नरेन्द्र मेमोरियल जनता मावि, बोरिया–४, सप्तरीको शिक्षक कार्यविभाजन देहायबमोजिम छ–
(क) वर्ग शिक्षकको कार्य विभाजन– (क) कक्षा १ –अञ्जु साह÷(ख) कक्षा २ –रीता यादव÷(ग) कक्षा ३ –निर्जला अधिकारी÷(घ) कक्षा ४ –कृष्ण प्रसाद साह÷(ङ) कक्षा ५ –रामजतन साह÷(च) कक्षा ६ –रामविलास यादव÷(छ) कक्षा ७ –संगिता यादव÷(ज) कक्षा ८ –भोगीलाल साह÷(झ) कक्षा ९ – भोगीलाल यादव÷(ञ) कक्षा ९ प्राविधिक तर्फ – भुषण रुञ्जन÷(ञ) कक्षा १० – खिलानाथ गौतम
(ख) अतिरिक्त कार्यकलाप– (अ) प्रावि तर्फ – ममता यादव÷(आ) निमावि तर्फ –अरूण कुमार यादव÷(इ) मावि तर्फ भोगेन्द्र यादव
(ग) पुस्तकालय एवं पत्र–पत्रिकाको सुरक्षा र व्यवस्थापन फाँट– विन्देश्वर यादव
(घ) विद्यार्थी अनुशासन र नियमितता रेखदेख फाँट – उमेश यादव
(ङ) प्रार्थजना÷खेलकुद÷सरसफाई रेखदेख फाँट – लक्षेश्वर पण्डित
(च) भोज÷निमन्त्रणा तथा सामाजिक उपस्थिति एवं समुदायसँगको सम्बन्ध फाँट – राजकुमार मण्डल
(छ) खेलकुद सामग्री व्यवस्थापन फाँट – रविन्द्र प्रसाद यादव
(ज) प्रोभिजनल कक्षा तोक्ने र कक्षा सञ्चालनको जिम्मेवारी – रमानन्द यादव
(झ) छात्र परामर्श तथा सल्लाह सेवा – भोगीलाल साह र रमानन्द यादव
(ञ) छात्रा परामर्श तथा सल्लाह सेवा – निर्जला अधिकारी र किरण झा
(ट) कक्षा १–३ का बालबालिकाको अवस्था रेखदेख, सुझाव एवं फूलबारी संरक्षण – किरण झा
४. पुरस्कार र सम्मानको विवरण
(क) जागरिलो शिक्षक पुरस्कार – प्रत्येक त्रैमासिक, अद्र्धवार्षिक र वार्षिक परीक्षा पिच्छे सर्वप्रथम कापी निरीक्षणको कार्य फत्ते गर्ने १ जना शिक्षकलाई नगद रू. १,०००।– सहित प्रमाणपत्र ।
(ख) समर्पित शिक्षक पुरस्कार – प्रत्येक त्रैमासिक, अद्र्धवार्षिक र वार्षिक परीक्षा पिच्छे सर्वप्रथम प्रोग्रेस रिपोर्ट तयार गरी प्रअ समक्ष पेस गर्ने १ जना शिक्षकलाई नगद रू. १,०००।– सहित प्रमाणपत्र ।
(ग) नरेन्द्र स्मृति तथा अभिभावक दिवसको अवसरमा प्रत्येक शैक्षिक सत्रको भदौ ३० गते प्रोभिजनल कक्षा बढी लिने एक पुरुष शिक्षक र एक महिला शिक्षक गरी दुई जनालाई दोसल्लासहित प्रमाणपत्र ।
(घ) नरेन्द्र स्मृति तथा अभिभावक दिवसको अवसरमा प्रत्येक शैक्षिक सत्रको भदौ ३० गते वर्षभरि सबैभन्दा बढी उपस्थित हुने एक पुरुष शिक्षक र एक महिला शिक्षक गरी दुई जनालाई दोसल्लासहित प्रमाणपत्र ।
(ङ) अनुशासित विद्यार्थी पुरस्कार –नरेन्द्र स्मृति तथा अभिभावक दिवसको दिन वर्षभरि अनुशासित व्यवहार गर्ने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई पुरस्कारसहित प्रमाणपत्र ।
(च) नियमित विद्यार्थी पुरस्कार –नरेन्द्र स्मृति तथा अभिभावक दिवसको दिन वर्षभरि सबैभन्दा बढी उपस्थित हुने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई पुरस्कारसहित प्रमाणपत्र ।
(छ) शिव–सुनिल छात्रवृति पुरस्कार – प्रत्येक शैक्षिक सत्रमा विद्यालयबाट एसएलसी÷माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई डा. सुनिलकुमार झाले खडा गरेको १ लाख अक्षयकोषको व्याजबाट आएको नगद रकम दामासाहीले वितरण गर्नुका साथै प्रमाणपत्र ।
(ज) जहानदेवी छात्रवृति स्मृति पुरस्कार – प्रत्येक शैक्षिक सत्रमा विद्यालयबाट १०+२ परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई डा. सुनिलकुमार झाले आफ्नी मुमाको नामबाट खडा गरेको १ लाख अक्षयकोषको व्याजबाट आएको नगद रकम दामासाहीले वितरण गर्नुका साथै प्रमाणपत्र ।
(झ) मंंगलादेवी स्मृति पुरस्कार – प्रत्येक शैक्षिक सत्रमा कक्षा ६–१० मा पढ्ने सर्वोत्कृष्ट अङ्क ल्याउने एक दलित छात्र र एक दलित छात्रा गरी दुई जना विद्यार्थीलाई प्रा. अमरकान्त झाद्वारा दामासाहीले रू. २,०००।– नगदका साथै प्रमाणपत्र ।
(छ) मगनु झा स्मृति पुरस्कार – प्रत्येक शैक्षिक सत्रमा विद्यालयबाट एसएलसी÷माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई चाँदीको पदकसहित प्रमाणपत्र ।
(ज) प्रत्येक राष्ट्रिय पर्वको भोलिपल्ट प्रार्थना घण्टीमै सामुहिकरूपमा सोही दिवसका बारेमा सटिक उत्तरात्मक प्रश्न सोधी सर्वप्रथम उत्तर भन्ने तीन जनालाई सोही स्थानमा तत्कालै कापी र डटपेनले पुरस्कृत गर्ने ।
(झ) शैक्षिक उन्नययमा अनुकरणीय कार्य गर्ने शिक्षकलाई विद्यालय प्रशासनको निर्णयले प्रत्येक महिनाको अन्तिम दिन टिफिनपछि हुने स्टाफ मिटिङमा सम्मानित गर्ने ।
५. सहयोगी हातहरू
नेपाल सरकारको नियमित अनुदान र व्यवस्थाका अतिरिक्त अन्य संस्थाहरूले पनि विद्यालयको भौतिक व्यवस्थापन र शैक्षिक विकासमा सहयोग गरेका छन् ।
(क) सेभ द सप्तरी – खेल सामग्रीहरू, कार्पेटको व्यवस्था र विद्यालय भवन मर्मत गरी सहयोग गरेको ।
(ख) एन्सेट नेपाल, सप्तरी – अतिरिक्त कार्यकलापमा पुरस्कारको व्यवस्था गर्दै आएको ।
(ग) स्वच्छ र प्रगतिशील समाज, नेपाल, सप्तरी – विद्यालय परिसरमा बृक्षारोपणका लागि धार्मिक बृक्ष रुद्राक्ष र अशोकका बिरुवा प्रदान ।
(घ) दलित जनजागरण सेवा समिति, सप्तरी – कक्षा ८ मा अध्ययनरत् दलित विद्यार्थीलाई लक्षित गरी दुई महिना निःशुल्क कोचिङ कक्षा सञ्चालन । त्यस प्रयोजनका लागि कोचिङ शिक्षकलाई पारिश्रमिक स्वरूप रु १० हजार उपलब्ध गराएको ।
६. निष्कर्ष
विद्यालय वा घरपरिवारको नीति निर्माणमा बालबालिकालाई सहभागिता गराउनु पर्दछ । उनीहरूको व्यक्तित्वलाई महत्त्व दिएर व्यवहार गर्नुपर्छ । विद्यालय वा घरपरिवारमा बाहेक अन्यत्र पनि बालमैत्री व्यवहार गर्नुपर्छ । शिक्षकहरूले प्रयोग गर्ने शिक्षण विधि र प्रविधि बालकेन्द्रित हुनु जरूरी हुन्छ । बालबालिकाको मामलामा उनीहरू सम्मिलित समूहले गरेको निर्णय मात्रै अन्तिम र मान्य हुनुपर्दछ । उनीहरूले पाउने पुरस्कार वा सुविधा कटौतीका आधारहरू पूर्व परिभाषित र स्पष्ट हुनुपर्छ । गल्ती स्वीकारेको अवस्थामा मात्र सुविधा कटौती गर्नुपर्छ । स्पष्टीकरण दिने मौका दिन चुक्नुहुन्न । सुध्रने अवसर नदिई उनीहरूले पाउने सुविधा कटौती गर्नुहुन्न ।
आजका शिक्षकहरूले देखिएका समस्याभित्रै समाधानको बिज रहने सोच राख्नुपर्छ । गलत कदम देखिएमा त्यसको जरोसम्म पुगी दीर्घकालीन समाधानको बाटो पक्रनुपर्छ । गाली र छडीले अल्पकालीन समाधान देला तर दिगो समाधानका लागि मायालु बोली र समुचित पृष्ठपोषणको जरुरत पर्दछ । बालबालिकाको भावनानुकुल आवश्यकता र समस्या पहिचान हुनुपर्छ । कुनै पनि कुराको छनोटको पहिलो हक बालबालिकालाई नै दिनुपर्दछ । बालबालिकाको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न पछि पर्नुहुन्न । उनीहरूलाई घरपरिवारको महत्त्वपूर्ण सदस्य ठान्नुपर्छ । उनीहरूका कुरा ध्यानपूर्वक सुनी आवश्यकतानुसार उचित प्रतिक्रिया व्यक्त गर्नुपर्छ ।
शिक्षकहरूले धर्म निरपेक्ष नैतिक मूल्य स्थापित गर्न जोड दिनुपर्छ । आफू अनुकरणीय व्यक्ति बनेर अरूबाट सकारात्मक व्यवहारको अपेक्षा गर्ने गर्नुपर्छ । पूरातन जड अनुशासन नभई युगसापेक्ष प्रजातान्त्रिक अनुशासनको पालना गर्ने र गराउने काममा होसियार रहनुपर्छ । भेटिएका समस्या समाधानमा व्यवहारिक बाटो अबलम्बन गर्नुपर्छ । बेलाबेलामा सामुहिक छलफलद्वारा बालबालिकको स्वभाव÷व्यवहारको समीक्षा गर्ने र उत्प्रेरणा दिनु आवश्यक हुन्छ । देखिएका कमजोर पक्ष सुधार गर्न मर्यादित तवरले खबरदारी गर्न पनि कुनै कसर बाँकी राख्नुहुन्न । आवश्यकता परे आफू स्वयम् उनीहरूकै हितैषी मित्रको भूमिकामा समेत देखा पर्न सक्नुपर्छ ।
यस अर्थमा नरेन्द्र मेमोरियल जनता मावि, बोरिया–४, सप्तरीमा केही कमजोर पक्ष देखिए पनि आर्थिक विपन्नताका बाबजुत विद्यालयले बसाएको संस्कार र केही अग्रगामी कदम भने सबैका लागि सधैँका लागि अनुकरणीय छ । कार्यविभाजनअनुसार शिक्षकले शैक्षिक कार्य सम्पादन गर्नु, आर्थिक पारदर्शिपन अङ्गाल्नु, माथिल्ला शैक्षिक निकायहरूलाई विद्यालयको अध्ययन, अवलोकन र पृष्ठपोषण गर्न आमन्त्रित गर्नु, राम्रो काम गर्ने शिक्षकले पुरस्कृत र सम्मानित हुने अवसर पाउनु, समुदायको पूर्ण सहयोग र सद्भाव रहनु, मर्यादित र जेहन्दार विद्यार्थीहरूले बेलामौकामा पुरस्कृत हुने अवसर पाउनु, आर्थिकरूपले विपन्न भए पनि जेहन्दार भएमा समुदायद्वारा प्रदान हुने विविध पुरस्कार प्राप्त गरी अध्ययनलाई अगाडि बढाउन मद्दत पुग्नु जस्ता कार्य अरू विद्यालय र समुदायले सिक्नुपर्ने कुरा हुन् ।
साथै प्रधानाध्यापक पढाउन कक्षामा विरलै प्रवेश गर्छन् भन्ने आमजनगुनासो विपरीत प्रअ गौतमले माध्यमिक तहमा चार घण्टी दैनिक शिक्षण गरेबाट एक खुट्किलो उक्लिएको अनुभूत हुन्छ । विव्यस अध्यक्ष प्रमेश यादवले प्रतिद्वन्द्वी उम्मेद्वार सदानन्द यादवलगायतका अभिभावकहरू विद्यालयको शैक्षिक वातावरणमा सहयोगी बन्दै आएको र कुनै किसिमको अशैक्षिक अवस्था नरहेको कुरा सङ्केत गरेबाट पनि समुदाय विद्यालयको जिम्मेवार सुरक्षाकर्मी सावित भएको देखिन्छ । अतः नरेन्द्र मेमोरियल जनता मावि, बोरिया–४, सप्तरीका राम्रा पक्षलाई हाम्रा बनाउन सके सरकारी विद्यालयप्रति हेरिने आमजनताको दृष्टि पक्कै बदलिनेमा दुई मत रहन्न भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।