राजविराज, १० पुस । सातौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सप्तरीको राजविराजमा राष्ट्रिय पुरुष तथा महिला भारत्तोलन प्रतियोगिता आइतवारदेखि सञ्चालन भएको छ ।
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीले जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा प्रतियोगिताको उद्घाटन गरेका हुन् । २५ केजी तौल उचालेर प्रतियोगिताको उदघाटन गर्दै उनले खेलकुदले हिमाल, पहाड र तराईलाई जोड्ने काम गरेको बताए । खेलकुदको विकासकालागि खेलकुद विश्वविद्यालयको स्थापनाका साथै खेलाडिको जीवन विमा, आजिवन भत्ता, परिचय पत्रको ब्यवस्था गर्ने प्रतिवद्धता मन्त्री श्रीपाईलीले गरे । सातौं राष्ट्रिय खेलकुदवाट छानीएका खेलाडिलाई १३औं दक्षिण एशियाली खेलकुदलाई लक्ष्य वनाई मेहनत गर्न समेत उनले आग्रह गरे । 
महिला र पुरुष दुवैतर्फ १÷१ वटा प्रतिस्पर्धामा अनुसार पुरुषतर्फ ५६ केजी तौल समुहमा पुर्वाञ्चलका मनोज यादवले प्रथम स्थान प्राप्त गरी स्वर्ण पदक हात पारेका छन् । उनले १७५ केजी तौल उचालेका थिए । सोहि तौल समुहमा नेपाली सेनाका तुलानाथ महतोले १६६ केजी तौल उचालेर रजत तथा सुदुर पश्चिमाञ्चलका रवीलाल चौधरीले १६२ केजी उचालेर कास्य पदक हात पारेका छन् ।
महिलातर्फ ४८ केजी तौल समुहमा नेपाली सेनाकी मनिषा रानाभाटले १ सय ५ केजी तौल उठाएर स्वर्ण पदक हात पारेकी छिन । उक्त तौल समुहमा पुर्वाञ्चलकी मनिषा चौधरीले ७७ केजी तौल उठाएर रजत तथा सुदुर पश्चिमाञ्चलकी कंचन चौधरीले ७१ केजी तौल उठाएर कास्य पदक प्राप्त गरिन् ।
प्रतियोगितामा ५ विकास क्षेत्र र नेपाल पुलिस, त्रिभुवन आर्मी तथा एपिएफ क्लव गरी आठ टिम सहभागी छन् । चार दिनसम्म चल्ने प्रतियोगितामा १५ स्वर्ण पदकका लागि १ सय २३ खेलाडि प्रतिस्पर्धा गर्ने भारत्तोलन संघका केन्द्रीय सदस्य दिनेश भुजेलले बताए । प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ८ गरी १५ तौल समुहमा प्रतिस्पर्धा हुने भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश यादवले बताए ।
प्रतियोगितामा खेलाडिहरुको तर्फवाट अन्तराष्ट्रिय खेलाडि शान्ति चौधरी र निर्णायकको तर्फवाट भारत्तोलन संघका केन्द्रीय सचिव तिलक वहादुर राउतले सपथ लिएका थिए । जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलद्वारा संचालित कार्यक्रममा समितिका अध्यक्ष एजेट लामाले स्वागत तथा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष एवम् भारत्तोलन संघका राष्ट्रिय उपाध्यक्ष सुरेन्द्र हमालले प्रतियोगितावारे जानकारी दिएका छन् ।





