राजविराज, ४ पुस । च्याम्पियन्स क्ल्व रुपनीद्वारा रायपुरमा सञ्चालित रुपनी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सिरहाको सलहेश क्रिकेट टिम विजयी भएको छ ।
सिरहाको टिमले सप्तरीको यङ्ग इलेभेन क्रिकेट टिम बरही बीरपुरलाई ७ रनको झिनो अन्तरले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ्ग गरेको सिरहा निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १ सय ६६ रन बनायो । उसका लागि कप्तान शंकर यादव ५० र निरज यादवले ५४ रन बनाए । बलिङ्गतर्फ सप्तरीका गुञ्जन र उपेन्द्रले २-२ विकेट लिए ।
प्रतिउत्तरमा व्याटिङ्ग गर्न आएको सप्तरीको टिम निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय ५९ रन मात्र बनाए । उसका लागि रमेशले ३० र बिराटले २८ रन बनाए । बलिङ्गतर्फ सिरहाका निरज यादव र श्यामले २-२ विकेट लिए । खेलमा विजयी टिमका निरज यादव म्यान अफ द म्याच घोषित भए । उनलाई इलाका प्रहरी कार्यालय रुपनीका असई विजय खड्काले पुरस्कार दिए । प्रतियोगिता अन्तर्गत मंगलबार हुने खेलमा आयोजक रुपनी ए र बनरझुल्ला क्रिकेट टिमबीच खेल हुने आयोजक च्याम्पियन्स क्लवका अध्यक्ष धिरेन्द्र चौधरीले जानकारी दिएका छन् ।
यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिकास्थित भगवतपुरमा स्थानीयहरुको आयोजनामा सोमबारदेखि चन्द्रभोगा कप फुटबल प्रतियोगिता शुरु भएको छ । शम्भुनाथ नगरपालिका वडा नम्बर ५, ६ र ७ का बासिन्दाद्वारा आयोजना गरिएको प्रतियोगिताको नगरपालिकाका कार्यकारी अधिकृत संजीब न्यौपानेले उद्घाटन गरेका हुन् । उद्घाटन खेलमा महोत्तरीको फुटबल टिम विजयी सप्तरीको फत्तेपुर स्पोर्टस क्लव पराजित फत्तेपुरलाई २ का बिरुद्व ३ गोलले पराजित गरेको महोत्तरीको तर्फबाट अनिल मगर, कनम आले र प्रेम मगरले गरेको फत्तेपुरको तर्फबाट सुनिल खड्का र सुदिप श्रेष्ठले गोल गरेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार हुने खेलमा उदयपुरको गाईघाट र आयोजक ११ बीच खेल हुने आयोजकका दिपेन्द्र चौधरीले जानकारी दिएका छन् ।