• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

साहित्यकार झाको ‘बुलबुल’ कथा सङ्ग्रह गुलाब फूल जस्तैः डा. विमल

साहित्यकार झाको ‘बुलबुल’ कथा सङ्ग्रह गुलाब फूल जस्तैः डा. विमल

धनुषा, २६ मंसिर । पत्रकार एवम् साहित्यकार सुजीतकुमार झाको सातौँ कृति बुलबुल कथा सङ्ग्रहको परिचर्चा कार्यक्रम शनिवार जनकपुरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
परिचर्चा कार्यक्रममा वक्ताहरुले पत्रकार सुजीत कुमार झा उर्जाशील भएर साहित्यिक कृति लेखनमा लाग्नु प्रशंसनीय रहेको बताए । मैथिलीका बरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमलले एक पछि अर्को गरी सातौँ कृतिसम्म आईपुग्दा समेत लेखक झाको लेखनको स्तरीयतामा कुनै कमी नआएको टिप्पणी गरे । उनले कथा सङ्ग्रह बुलबुललाई गुलाब फूलसँग तुलना गर्दै मुक्तकण्ठले प्रशंसा गरे । डा. विमलले उनको यो कृति नवपुस्तालाई समेत साहित्यिक लेखनतर्फ प्रेरित गरी रहने विश्वास व्यक्त गरे ।
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सम्पादन समिति सदस्य एवम् सांसद डा. विजय कुमार सिंहले मैथिली साहित्यलाई सहज र पठनीय बनाउन मैथिली साहित्यका अगुवाहरुलाई आग्रह गरे । यहाँका पाठकहरुमा मैथिली साहित्यप्रति अगाध स्नेह रहे तापनि मैथिली पढ्न गाह्रो भएकाले पनि मैथिली साहित्यको सोचे जति विकास हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।
साहित्यकार रेवती रमण लालले झाको बुलबुल कथा संग्रहको मात्रै नभई उहाँका पछिला कृतिहरुको समेत प्रशंसा गर्दै साहित्यकारहरुको मनोबल बढाउन तर्फ सबैलाई आग्रह गरे । मैथिली लेखकहरुका कमीलाई मात्रै उजागर गर्ने तर लेखकको मनोबल नबढाउने गलत संस्कार बसेको प्रति दुःख व्यक्त गरे ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ रमेश रञ्जन झा मैथिलीको पाठक ठूलो संख्यामा नरहेको भन्दै कमसेकम मैथिली पढेर आलोचना गर्ने परिपाटीको विकास गर्न सकियो भने पनि मैथिली साहित्यको विकास हुने बताए । डा. भोगेन्द्र झाले लेखक झाको यो कृतिले मैथिली साहित्यमा मात्रै नभई चौतर्फी रुपमा ठूलो सन्देश दिन सफल भएको बताए ।
आफन्त नेपालका प्रदीप यादवको अध्यक्षतामा सम्पन्न परिचर्चा कार्यक्रममा डा. सुरेन्द्र लाभ, बरिष्ठ पत्रकार बिएम खनाल, समाजसेवी अमरचन्द्र अनिल, सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष रामअशिष यादव, नेपाली कांग्रेसका युवा नेता धीरेन्द्र मोहन झा, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ, उद्योग वाणिज्य संघ जनकपुरका महासचिव जितेन्द्र प्रसाद साह लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरे ।