• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

परिषद्ले विद्यापति स्मृति पर्व भव्यताकासाथ मनाउने

परिषद्ले विद्यापति स्मृति पर्व भव्यताकासाथ मनाउने

राजविराज, १८ कार्तिक । मैथिली साहित्य परिषद् राजविराजले विद्यापति स्मृति पर्व भव्यताकासाथ मनाउने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा विहीवार बसेको कार्यसमितिको बृहत बैठकले यस्तो निर्णय गरेको हो । विद्यापति स्मृति पर्वका अवसरमा कार्तिक २७ गते शनिवार परम्परागत लोकबाजा ढोल पिपहीका साथ धोती कुर्ता पहिरणमा झाँकी प्रदर्शन गर्ने निर्णय गरेको छ । राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालय प्राङ्गणबाट ११ बजेको समयमा निकालिने झाँकी नगरको विभिन्न भाग परिक्रमा गरिने कार्यक्रम रहेको परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् ।
उनका अनुसार झाँकी नगर परिक्रमा पश्चात मैथिली भवनमा पुगी सभामा परिणत हुने तथा उक्त अवसरमा शिवदत्त मैथिली पुरस्कार, विजेन्द्र विनोद मैथिली साँस्कृतिक पुरस्कार र विवेकानन्द मैथिली पत्रकारिता पुरस्कारसमेत प्रदान गरिने कार्यक्रम रहेको छ । शिवदत्त मैथिली पुरस्कारकालागि तीन सदस्यीय समिति समेत गठन गरिएको छ । समितिमा प्रा. शिवचन्द्र मिश्र, परिषद्का उपाध्यक्ष सतिश कुमार दत्त र पूर्व प्राचार्य नथुनी दास रहेका छन् ।
यसैगरी कार्तिक २६ गते शुक्रवार मैथिल महिला परिषदद्वारा मैथिली भवनमा बृहत साहित्यिक गोष्ठि तथा कार्तिक २८ गते आइतवार मैथिली कलाकार परिषद्द्वारा जिल्लास्तरीय नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय भएको जनाईएको छ । बैठकमा कार्यसमितिका साथै आमन्त्रित अतिथिहरुमा परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, पूर्व प्राचार्य नथुनी दास, मैथिल महिला परिषद्की अध्यक्ष सबिता दास र मैथिली पत्रकार परिषद्का अध्यक्ष जितेन्द्र कुमार झालगायतको उपस्थिति रहेको थियो ।