राजविराज, १७ कार्तिक । लक्ष्मी पूजा समिति लौनियाँले बुधवार सप्तरीका एक दर्जन साहित्यकार, पत्रकार र कलाकारलाई एक समारोहका बीच सम्मान गरिएको छ ।
डिहबार स्थान प्राङ्गणमा बुधवार आयोजित समारोहमा सम्मान गरिएको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, मैथिली साहित्य परिषद्का सचिव समेत रहेका ‘न्यूज टुडे’का सम्पादक श्यामसुन्दर यादव, मैथिली पत्रकार परिषद् सप्तरीका अध्यक्ष समेत रहेका नागरिक राष्ट्रिय दैनिकका सम्वाददाता जितेन्द्र कुमार झा, गीतकार एवम् सिएफएमका स्टेशन म्यानेजर भूषण सिंह ‘भँवर’, वरिष्ठ गायक सुधानन्द झा, सङ्गीतकार कमल मण्डल, साहित्यकार सागरबीर कडारी, गायिका अन्जु यादवलगायतलाई सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व सिंचाईमन्त्री समेत रहेका सप्तरी क्षेत्र नम्वर–३ का सांसद उमेश कुमार यादवले सम्मान गरेका छन् । मैथिली भाषा, साहित्य एवम् कला क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक श्रीराम कुमार मण्डलले जानकारी दिएका छन् ।
पूजा समितिका अध्यक्ष विरेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित समारोहमा कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका सत्येन्द्रनाथ चौधरीसहितका विजयी कविलाई पुरस्कृत गरिएको छ । यसैगरी नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने छात्रछात्राहरुलाई समेत पुरस्कृत गरिएको छ ।
सोही आवसरमा आयोजक समितिले कार्यक्रमका प्रमुख अतिथि सांसद यादव, विशिष्ठ अतिथि मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, शिक्षक प्रदीप कुमार मण्डललगायतलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । खगेन्द्र कुमार मण्डद्वारा सञ्चालित समारोहलाई सम्वोधन गर्दै सप्तरी जिल्लालाई सिंहदरवारले हेर्ने दृष्टिकोण अझैं विभेदकारी रहेको बताए । विकास निर्माणको सवालमा दलगत गुटगत स्वार्थभन्दा माथि उठेर आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए । मैथिली भाषा, साहित्य एवम् कला क्षेत्रको विकासकालागि आफूले आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत सांसद यादवले व्यक्त गरे ।





