राजविराज, ११ भदौ । हलुवाई समाज नेपालको आह्वानमा सप्तरीसहित देशका विभिन्न जिल्लाहरुमा गोबिन्द गणिनाथ पूजा महोत्सव शनिवार आयोजना गरिएको छ ।
महोत्सवका अवसरमा सप्तरी सदरमुकाम राजविराज स्थित थानगाछी प्राङ्गणबाट निकालिएको कलशसहितको शोभायात्रा नगरको विभिन्न भाग परिक्रमा गरेको छ । सयौं महिला एवम् पुरुषको सहभागिता रहेका कलश यात्रा तथा झाँकी थानगाछी स्थित गणिनाथ मन्दिरमै पुगी समापन छ । गणिनाथ महोत्सवमा हलुवाईलगायत विभिन्न जातीका व्यक्तिहरुले कुलदेवता गणिनाथको भव्य पूजाआजा गरेका छन् । 
यसैगरी बिराटनगर स्थित सिङ्गिया खोला छेउँको मन्दिर, इनरुवा सुनसरी खोला छेउ, जनकपुर, बीरगञ्ज, काठमाण्डौको जैन भवन लगायतका स्थानहरुमा कलश शोभायात्रा पूजा, सिनरी पूजा लगायतका धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको छ । यस्तै आइतवार छाँकी (दुध खुवाृउने) दिएर महोत्सवको विधिवत रुपमा समापन गरिने हलुवाई समाज नेपालका केन्द्रिय अध्यक्ष शिवनारायण साह ‘हलुवाई’ले जानकारी दिएका छन् ।
गोबिन्द गणिनाथ पूजा हलुवाईसहित तराई–मधेशका विभिन्न जातीहरुले प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको पहिलो शनिवारका दिन मनाउने गर्छन् । 