• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

खेतीयोग्य जग्गा मासेर अर्बौ खर्चिने योजनाको व्यापक विरोध

खेतीयोग्य जग्गा मासेर अर्बौ खर्चिने योजनाको व्यापक विरोध

राजविराज, १० भदौ । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर उखान जस्तै भएको एसियन विकास बैंकको सहयोगमा कञ्चनरुप नगरपालिकामा सञ्चालित सडक योजना । जिल्लाकै अति पुरानो कञ्चनपुर बजार भएर गएको सडक विस्तार तथा निर्माण गर्नुको साटो खेतीयोग्य जग्गा मासेर नयाँ सडक बिस्तार गर्न लागेको हो । कञ्चनरुप नगरपालिका वडा नम्वर–९ बन्दरा खोलादेखि रुपनगर चौकसम्म करिब ४ किलोमीटर लामो सडक विस्तार गर्न लागेको कञ्चनरुप नगरपालिका वडा नम्वर–५ का दिपक गुप्ताले जानकारी दिए । उनका अनुसार नयाँ सडक विस्तारको नाममा खेतीयोग्य जग्गा मासेर अर्बौ रुपैयाँ खर्च गर्नुको औचित्य छैन । ‘बन्दरा खोलादेखि रुपनगर चौकसम्म सडक बनाउँदा जमिनको लेभेल एकदमै गहिरो छ’ उनले भने ‘यतिमात्र होइन दुई–तीन ओटा पुल पनि बनाउनुपर्नेहुन्छ, चन्द्रनहरबाट सिंचित जग्गा मास्नुले एडिबीको नियतमाथि शंका गर्नु स्वाभाविक हो।’kanchanroop (1)
यस्तै भनाई रहेको स्थानीय युवा पिताम्बर कर्णको । लिंक रोड बनाउने भनी सर्वेक्षण समेत भईसकेको तथा जग्गाधनीहरुलाई मुआब्जा दिने कुरा समेत तय भईसकेको बताउँदै उनले भने ‘नयाँ सडक निर्माण भएपछि कञ्चनपुर बजारको व्यापार–व्यवसाय चौपट्ट हुने भएकोले रकम सिध्याउने उक्त कार्यलाई तत्काल रोक्नु जरुरी छ ।’
कञ्चनपुर बेरियरदेखि सुनसरीको चतरासम्म जाने सडकको निर्माण तथा विस्तारमा ढिलासुस्ती गरी अन्यत्र अल्झिनु दुर्भाग्यपूर्ण भएको वडा नम्वर–६ का पूर्व वडा अध्यक्ष किशोर गुप्ताको भनाई छ । बजारको बीचबाट गएको पुरानो सडक बिस्तार गर्ने क्रममा धेरै घरहरु समेत स्थानीयले भत्काएको बताउँदै उनले भने ‘बजारबासीको लाखौं क्षति भएको अवस्थामा अन्यत्रबाट बाटो बनाईए कञ्चनपुरका व्यापारी व्यवसायी एवम् स्थानीयवासिन्दाकालागि दुर्भाग्यपूर्ण हुने उनको भनाई छ ।
एसियन विकास बैंकको लगानीमा कालिका कन्सट्रक्सनले उक्त सडक निर्माणको जिम्मा पाएको छ । उता बस्ती नै नभएको खेतीयोग् जग्गा मासेर जग्गा धनीलाई मुआब्जा दिने, माटो भर्ने, पुल बनाउनेलगायतका कार्यहरुमै अर्बौं रुपैयाँ खर्च हुने अवस्था रहे पनि त्यसको उपयोगिता समेत नरहने स्थानीय भोला राउतको भनाई छ । कुनैबेला पहाडि जिल्लाहरुबाट तेजपात, घीउ, हिङ्ग, बेसार, नासपाती आदि ओसोर–पसार गर्ने कुनौली फत्तेपुर सडकको नामले परिचित पुरानो सडकलाई बेवास्ता गरी नयाँ सडक निर्माणको कुनै तुक नरहेको उनको तर्क छ ।
बन्दरा खोलादेखि रुपनगर चौकसम्म नयाँ लिंक सडक निर्माणका क्रममा उच्च माध्यमिक विद्यालय रुपनगरको केही भौतिक संरचना समेत भत्काउनुपर्ने हुन्छ । कञ्चनपुर क्षेत्रका अधिकांस वासिन्दाले नयाँ सडक निर्माणको विरोध गर्दैआएका छन् भने केही व्यक्तिले भने समर्थन गर्दैआएका छन् ।