काठमाडौं, १० भदौ । । रौतहटबाट पोखरातर्फ जाँदै गरेको यात्रुबस शुक्रबार बिहान चितवनको मुग्लीन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा २२ यात्रुको मृत्यु भएको छ ।
ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा २२ यात्रुको मृत्यु भएको र १७ जना घाइते भएको छ । मृत्यु हुनेमा सनाखत हुनेहरुमा रौतहट महमदपुर ८ का २४ वर्षीय प्रमोद राम, रौतहट लौकाहाका राकेश यादव, कटारीया ९ रौतहटका ३४ वर्षीय व्रजकिशोर कुसवाहा, बसन्तपुर १ का २५ वर्षीय गणेशकुमार साह रहेका छन् ।
यसैगरी मधुवल्ला ३ का ३७ वर्षीय चितरञ्जन यादव, मुडल्वा ६ का ३३ वर्षीय राजेशकुमार यादव र ठेगाना नखुलेको तर नेपाल खानेपानी संस्थानको कार्यालय सहायकको परिचयपत्र भएको जोकु साहको शव फेला परेको छ । रौतहट इनरुवा ७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी, भारत बिहारका ३६ बर्षीय फेकन ठाकुर र ३६ बर्षीय शंकर ठाकुर, भारत मोतिहारीका ४० बर्षीय रामसागर भगत, रौतहट राजपुरका कामेश्यरप्रसाद साह, पोखरा झल्ली डाँडाका ४१ बर्षीय चित्रबहादुर बोहरा, रौतहट गरुडा १४ जयनगरका २६ बर्षीय शेष सहजित आलम, रौतहट लोकाहा २ का सचिन्द्रप्रसाद यादव, गौर १३ सिर्सियाकी सन्ध्या श्रीवास्तव र बस चालक लेखनाथ ११ कास्कीका लोकबहादुर पौडेलकामे पनि सनाखत भएको छ ।
अरु विवरण आउन बाँकी छ। घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुर ल्याइएको छ ।उक्त बसर राजमार्गबाट २ सय मिटर तल खसेको छ । रौतहटबाट पोखराका लागि छुटेको बसमा मृत्यु हुनेहरु बढी मधेसी मूल र पोखरातिरका रहेका छन् । अस्पतालमा ५ वर्षीया वालिका स्वेता गुप्ता र ९ वर्षकी निली साह र अर्का ५ वर्षका वालक प्रिन्स साह पनि अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना भएका अर्का दुई वर्षका शिशुको नाम खुल्न सकेको छैन । अन्य घाइतेहरुमा गौर नगरपालिका घर सुसन श्रीवास्तव र भारत घर भएका १८ वर्षका रोशन गुप्ता रहेका छन् ।
धादिङ घर भएका गाडीका सह–चालक ३० वर्षका राजन पाण्डे पनि घाइते भएका छन् । अर्का बस चालकको अवस्था भने खुलेको छैन । पोखरा नगरपालिका बस्ने निमिका थापा पनि अस्पताल भर्ना भएकी छिन् । बारा निजगढका २८ वर्षिय रोशन गुप्तालाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको छ । रौतहटका ४० वर्षीया सन्देश साह र सर्लाहीका २५ वर्षीय अविनाश चौधरी चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत रहेका छन् ।
दुर्घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्यमा खटिएका छन् । यता मृतकको विवरण संकलन गर्ने कार्य भईरहेको प्रहरीले जनाईएको छ ।