सुनसरी, ८ भदौ । सुनसरीको अमडुबा गाविस वडा नम्वर–९ स्थित पोखरीको पानीमा डुबेर मङ्गलबार दिउँसो तीन बालिकाको मृत्यु भएको छ ।
स्थानीय जनता प्राथमिक विद्यालयको नजिक रहेको पोखरीमा नुहाउन गएका बेला तीन बालिकाको डुबेर एकसाथ मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय सुन्दर ऋषिदेवको छोरी ९ वर्षीया करुणा ऋषिदेव, राजु ऋषिदेबको छोरी १० वर्षीया दिपिका ऋषिदेव र सोही ठाउँका रामु ऋषिदेवको छोरी ९ बर्षिय नन्दनी ऋषिदेव रहेका छन्।
स्कुल बिदा भएको बेला नुहाउन गएको र निकै बेरसम्म फर्केर नआएपछि खाज्दै जाँदा उनीहरु मृत फेला पारे पछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटना स्थलमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीको टोलीले कानूनी प्रकृया पुरा गरेको छ । यसैगरी सुनसरीकै अमाहिबेला वडा नम्वर–५ स्थित घमना खोलामा डुबेर मङ्गलबार एक बृद्धाको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा सोही ठाउँकी ९० बर्षिया हिरा देवी घिमिरे रहेकी छिन् । घर भन्दा अन्दाजी आठ सय मिटर पूर्वमा रहेको उक्त खोलामा उनलाई स्थानीयले मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।