• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कटारीमा शान्ति रथको भव्य स्वागत

सखडा, २३ साउन । शान्ति र कल्याणको सन्देश लिएर अघि बढेको सखडेश्वरी छिन्नमस्ता भगवतीको रथको उदयपुर कटारीवासीले आइतवार भव्य स्वागत गरेका छन् ।
सिरहाको चौहर्वाबाट मिर्चैया र कटारीका लागि हिँडेको माताको रथ अपरान्ह कटारी आई पुग्दा स्थानीय भक्तजनले दुई माईल अघिबाटै अगुवाई गरी रथलाई कटारी नगरमा प्रवेश गराएको थियो । सो अवसरमा भक्तजनले सखडेश्वरी महिषमर्दिनी छिन्नमस्ताको पूजा–अर्चना गरेका थिए । उनीहरु माताको जयकार र नाचगान गर्दै रथयात्रामा सहभागी भएका थिए । जुलुसमा ठूलठूला झण्डाले सजिएका ट्रक, बोलेरो, भ्यान, मोटरसाईकलमा सवार तथा पैदल यात्रीको ठूलो सहभागिता थियो ।
राष्ट्रिय शान्ति तथा मानव कल्याणका लागि आउँदो चैत (१६–२७) मा सखडा छिन्नमस्ता शक्तिपीठमा आयोजना हुने लक्षचण्डी रुद्र महायज्ञको प्रचारार्थ गत असार ३० गते यज्ञस्थलबाट निस्केको शान्ति रथ आज २५ औं दिनमा कटारी आई पुगेको हो । कटारीमा रथयात्राको व्यवस्थापन स्थानीय राधेश्यामजीका साथ धार्मिक–सामाजिक संघसंस्थाका कार्यकर्ता तथा भक्तजनहरुले गरी रहनुभएको छ ।
रथको रात्रिविश्राम यहाँको शिवालयमा रहेको छ । साँझ ७.३० बजे संध्या आरती तथा सोमबार बिहान पूजा–अर्चना, आरती गरी नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । यहाँबाट घुर्मी तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सखडा पीठका पीठाधीश महाकान्त ठाकुरले बताए । उनले कटारी वासीले अत्यन्त हर्ष र उद्गारका साथ माताको स्वागत गरेकोमा प्रसन्नता व्यक्त गरे ।
यसअघि बिहान ८ बजे चौहर्वामा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा स्थानीय भक्तजनको ठूलो समूहले माताको रथको विदाई गरेको थियो । यो रथयात्रा सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर (बेल्टार, गाईघाट, जलजले), सिरहाको भ्रमण गरी पुनः उदयपुर जिल्लामा प्रवेश गरेको छ ।
नेपालको पहिलो पटक हुन लागेको अत्यन्त उच्चकोटीको यो यज्ञ नेपाल र भारतका शंकराचार्य, पठिाधीश, संत, महन्तको सानिध्यमा ३५ सय वेद अध्येताद्वारा सम्पन्न गरिने छ । यसबाट मुलुकमा स्थायी शान्तिको स्थापना हुने विश्वास गरिएको छ ।