• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कुसेश्वरलाई रिहा गर्न गोबरगाढाबासीको आग्रह

कुसेश्वरलाई रिहा गर्न गोबरगाढाबासीको आग्रह

राजविराज, १२ साउन । सप्तरीको यस्तो गाउँ गोबरगाढा जहाँका वासिन्दाको असारदेखि चार असोजसम्म जनजीवन अति कष्टकर हुने गर्दछ । मृत्युसँग संघर्ष गरेर भए पनि आफ्नो जन्मथलोलाई छाडेर अन्त कतै बसाई सर्न नमान्ने यहाँ वासिन्दाले बिना बर्दीको सिपाही भएर सिमाको रक्षा गर्दैआएका छन् ।
माओवादी जनयुद्ध होस् वा तराईको सशस्त्र आन्दोलन । तीन सय परिवारको करिब एक हजार दुई सयको संख्यामा रहेका गोबरगाढा यति संकटमा परेको छ । सप्तकोसी नदीमा पानी बढ्ने क्रमसँगै त्यहाँका बासिन्दाको मुटु धड्कन तेज हुने गर्दछ । चारैतर्फ सप्तकोशी नदी बगिरहेको छ । बीचको टापुमा गोबरगाढा गाउँमा फुसका झुप्राहरु छन् । त्यहाँसम्म पुग्ने एकमात्र माध्यम डुङ्गा र पानी भएर पैदल यात्रा । करिब पाँच घण्टाको कष्टप्रद यात्रापछि पुगिने उक्त बस्तीलाई यतिबेला थप बज्रपात परेको छ ।
गोबरगाढा गाविस–२ हाल हनुमाननगर योगिनीमाई नगरपालिका–८ का अगुवा समाजसेवी कुशेश्वर यादवलाई सप्तरी प्रहरीले हिरासतमा राखेको छ । उनलाई एसपी साबले बोलाएको छ भनी एक प्रहरी जवानले फोन गरेपछि तीन ओटा ठूला भङ्गालो तरेर सदरमुकाम आए । उनले एसपी साबकालागि खुवाको पोको बोकेर खुशी साथ जिल्ला प्रहरी कार्यालय आएका थिए ।
एक जना ईन्सपेक्टरले नाम सोध्दै हिरासतमा कोचिदिए । गाउँमा बाढीको कहर बढीरहँदा बस्तीका वासिन्दालाई कुशेश्वरको अभाव खट्केको छ । उनलाई हिरासतमा लिएपछि गोबरगाढा बस्तीका बासिन्दाहरु जिल्ला प्रहरी कार्यालय आएर एसपी भीम प्रसाद ढकाल समक्ष गुहार मागे । कुसेश्वर अनुसन्धानमा रहेको भनी जवाफ पाएपछि स्थानीय फर्किन बाध्य भए ।
करिब १२ वर्षदेखि प्रहरी चौकी समेत नरहेको उक्त गाउँमा उनले समाजसेवीको भूमिका निर्वाह गर्दैआएका थिए । सुरक्षा निकाय होस् वा पत्रकार या अन्य कुनै आगन्तुक स्वागत गर्न तथा सहजीकरण तत्पर रहने कुसेश्वरको गाउँ संकटमा फँसेको बेला मन कुँडिने गरेको उनले बताए । गाउँ पुग्ने जो कोहीलाई दुध, दही, छालही वा खीर खुवाएर पठाउने गर्दथे ।
करिब डेढ दर्जन भैंसी पालेका कुसेश्वर नै हिरासतमा परेपछि पत्नीसहित कुल १२ जनाको परिवार थप बिचल्लीमा परेका छन् । गाउँ पस्ने पत्रकार होस् या सुरक्षा निकाय जो कोहीलाई गोबरगाढाबासीले राहत भन्दा पनि कुसेश्वरलाई तारेखमा भए पनि विपत्तीको अवस्थामा छाडिदिन आग्रह गर्ने गरेका छन् ।
करिब तेह्र वर्ष अगाडि सोही गाउँमा एक जनाको हत्या भएको थियो । सोही घटनाको सन्दर्भमा अनुसन्धान गर्न सप्तरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । शुरुदेखि नै प्रहरीका समेत सहयोगी मानिएका उनी घटना भएको दिन समेत आफू प्रहरी चौकीमै सुतेको बताए । घटना भएको जानकारी पाएपछि गोबरगाढा चौकीका असइ गणेश बहादुर कार्कीको साथमा रातीको समयमा घटनास्थल पुगेको उनले ‘न्यूज टुडे’ बताए ।
ईलाका प्रहरी कार्यालय हनुमाननगरका तत्कालिन सई नेत्रबहादुर बरुवालसमेत घटनास्थल पुगेर सर्जमिन मुचुल्का तयार गरेको बताउँदै कुशेश्वरले भने ‘त्यसपछि पनि भएका अध्ययन अनुसन्धान प्रतिवेदनमा मेरो संलग्नता नरहेको उल्लेख छ तर अहिले राजनीतिक षडयन्त्रका कारण आफूलाई फँसाउन खोजिएको छ ।’ सिमा क्षेत्र विकास कार्यक्रमको रकम दुरुपयोग गर्न खोज्दा त्यसक्षेत्रका केही नेताले रणनीति तहत यस्तो प्रपञ्च रचेको उनले दावी गरे ।
हिरासतमा रहेका कुसेश्वरको विषयमा प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले कर्तव्य ज्यान मुद्दामा अनुसन्धानकालागि हिरासतमा राखिएको बताए । गहन अध्ययन–अनुसन्धानपछि मात्र केही भन्न सकिने बताउँदै उनले भने ‘दोषीलाई कानून बमोजिम सजाय हुनुपर्छ र निर्दोषले न्याय पाओस् यसकालागि हामी सजग छौं ।’