राजविराज, ३० असार । जग्गा रजिष्ट्रेशन गराउने क्रममा कर्मचारीले एक सेवाग्राहीलाई कुटपीट गरेको विषयलाई लिएर उत्पन्न विवादका कारण राजविराज स्थित मालपोत कार्यालयको दैनिक कामकाज ठप्प भएको छ ।
जग्गा रजिष्ट्री गराउनकालागि मालपोत कार्यालय गएका राजविराज नगरपालिका वडा नम्वर–१० का ३४ वर्षिय श्यामप्रसाद साहलाई बुधवार कार्यालयका कर्मचारीहरुले निर्घात कुटपीट गरी घाइते बनाएका थिए । जग्गा रजिष्ट्री गराउनकालागि प्रक्रिया अगाडि बढाउने क्रममा रजिष्ट्रेशन फाँटका कर्मचारी धर्मेन्द्र खड्का र योगेन्द्र अधिकारीले चाँडो काम अगाडि बढाई दिने भन्दै आफूसँग दुई सय रुपैयाँ मागेको पीडित साहको भनाई छ ।
आफूले घुस नदिने अडान लिएपछि कागज फालिदिएको तथा आफूले ‘सेवाग्राहीको काम गर्नु तपाईहरुको दायित्व हो’ भनेपछि फाँटका कर्मचारी खड्का, अधिकारीले गाली–गलौज गर्दै कुट्न थालेको उनले बताए । आफूलाई कुट्न थालेको देखेर मालपोत कार्यालयका जामुन यादव, पशुपती देवलगायतले मुक्का, रड र धारिलो हतियारले हिर्काएको बताउँदै उनले भने ‘शुरुमा त दुई जनाले कुट्यो, त्यसपछि कार्यालयका अन्य कर्मचारीहरु समेत आएर मलाई मरणासन्न हुने गरी कुटेको अन्य सेवाग्राहीले देखेपछि उनीहरुले नै जोगाईदियो ।’
सेवाग्राहीहरुलाई असह्य भएपछि आफूलाई थप कुटपीटबाट जोगाएको जानकारी दिँदै आफू कार्यालयमा सेवा लिन आएकोमा घुस नदिएपछि यसरी मरणासन्न हुने गरी कुटाई खानुपर्ने दुःखेसो सुनाए । जिऊभरी निलडाम तथा घाउ देखाउँदै उनले भने ‘सरकारी कार्यालयमा सेवाग्राहीले काम गराउन जाँदा पहिला घुस मागिन्छ र नदिएपछि कर्मचारीबाट कुटाई खानुपर्ने अवस्था छ, यसरी खुलेयाम घुस मागिन्छ र नदिएपछि कानूनलाई हातमा लिएर डनको शैलीमा कुटिन्छ ।’ कार्यालयमा सेवाग्राहीसँग यस्तो व्यवहार गर्ने कर्मचारीलाई कडा कार्वाही गर्न पीडित साहले माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा आएको टोलीले आरोपित कर्मचारी र पीडित साहसमेतलाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको थियो । पक्राउ परेका कर्मचारीहरुलाई तत्कालै छाडिएको भन्दै आक्रोशित सर्वसाधारण जनताले कामकाज अवरुद्ध पारेका छन् । दोषी कर्मचारीलाई आम जनता सरह कार्वाही नगरिएसम्म मालपोत कार्यालयको कामकाज अवरुद्ध राख्ने अडान राखेका छन् ।
यता जिल्ला विभिन्न राजनीतिक दलका नेताहरु समेत आम जनताको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम मालपोत कार्यालय पुगेर कामकाज सुचारु गराउनकालागि पहल गरे पनि प्रयास विफल भएको छ । उनले निजामती कर्मचारीलाई ऐन अनुसार विभागीय कार्वाही गर्ने बताए पनि आन्दोलनकारीहरुले मान्न तयार भएन ।
आन्दोलनकारीहरुले दोषी कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर कार्वाही नगरेसम्म कार्यालय सुचारु हुन नदिने अडान आफूहरुले राखेको संघीय समाजवादी फोरमका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिए । उक्त विषयमा सर्वपक्षीय बैठक बसेर ठोस निर्णय लिने सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादवले बताए ।