राजविराज, ३० असार । सप्तरीको कन्चनरुप नगरपालिकामा एक किशोरीको सामुहिक बलात्कार भएको रहस्य खुलेको छ ।
मङ्गलवार साँझ स्थानीय बजारमा घरायसी सामग्री खरिद गरेर रुपनगर स्थितको घरतर्फ जाँदै गर्दा १५ वर्षिय किशोरीलाई नियन्त्रणमा लिएर बलात्कार भएको हो । कन्चनरुप नगरपालिका–७ का अन्दाजी ४०–४५ वर्षिय बलदेब सरदारले कन्चनपुर नजिकको चन्द्र नहरको पुलदेखि अलि पर खुला ठाउँमा लगेर किशोरीको बलात्कार भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
किशोरीलाई बलात्कार गरिरहेकै समयमा को ९ प ४४३७ नम्बरको मोटरसाईकलमा चढेर आएका पोर्ताहा गाउँ विकास समितिका ९ का अशोक साह र सियाराम सरदारले किशोरीलाई अपहरण गरेर लगेको जनाईएको छ । उनीहरुले किशोरीलाई मोटरसाईकलमा राखी पूर्व पश्चिम राजमार्ग अन्तर्गत कन्चनरुप नगरपालिका ७ स्थित सिमरा लगेर राजमार्ग भन्दा ३ सय मिटर दक्षिणतर्फ खेतमा लगेर पालैपालो जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक गौरब महतले बताए । बुधवार विहान मोटरसाइकलमा किशोरीलाई कञ्चनपुतरर्फ आइरहेको समयमा प्रहरीले पक्राउ गर्न सफल भएको थियो । प्रहरीलाई देखेपछि तिब्र गतिमा मोटरसाइकल चलाउने क्रममा दुर्घटना भएपछि उक्त घटनाको विषयमा रहस्य खुलेको जनाईएको छ । बलात्कारमा संलग्न रहेको भन्दै तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बुधवार पक्राउ गरिएका तीनै जनालाई बिहीबार म्याद थप गरी कारबाहीको प्रक्रिया अघि बढाइएकाे छ ।