राजविराज, ३० असार । राज्यले मधेशीलगायत आन्दोलनरत पक्षको माग सम्बोधन नगरेको भन्दै दवाव स्वरुप सप्तरी जिल्लामा जारी अनिश्चितकालीन रिले अनसन विहीवार १३औं दिनमा प्रवेश गरेको छ ।
सङ्घीय गठबन्धनको आह्वानमा जिल्ला स्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा रिले अनसनलाई निरन्तरता दिँदै आएका हुन् । रिले अनसनमा संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष अमरनाथ यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका मनोज मण्डल, सद्भावना पार्टीका क्षेत्रीय सदस्य मो. खुसर, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला सदस्य फुलदेव राम, तराई मधेश सद्भावना पार्टीका महेन्द्र सदा, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका युवा उपाध्यक्ष सुधीर कुमार यादव, नेपाल सद्भावना पार्टीका शिवलखन मण्डल र नेपाल सद्भावना पार्टीका भुवन राम सहभागी भएका छन् ।
यस अघि बुधवारको रिले अनसनमा नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष अमरनाथ मण्डल, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य रामेश्वर यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला सदस्य शत्रुध्न मण्ड, तराई मधेश लोकतान्त्रिक पार्टीका क्षेत्रीय अध्यक्ष जशकरण मण्डल, सद्भावना पार्टीका नगर सदस्य मनोज मेहतर, तराई मधेश सद्भावना पार्टीका सूर्यनारायण सदा र मधेशी जन अधिकार फोरम गणतान्त्रिकका खटर यादव सहभागी भएका थिए ।