काठमाडौं, २८ असार । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनमा पार्टीको भूमिका बारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा भोलि बिहान साढे ८ बजे बैठक बस्ने नेता बालकृष्ण खाँणले जानकारी दिए । सरकारमा रहेको ठूलो घटक माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न बैठकले प्रधानमन्त्रीलाई आग्रह गर्ने बुझिएको छ । माओवादी केन्द्रसँग मिलेर सरकार गठनका लागि भएको ७ बुँदे सहमतिबारे पनि बुधवारको बैठकमा जानकारी गराउने कांग्रेस उच्च स्रोतले बतायो ।
सरकारबाट बाहिरिएपछि मात्रै थप कुराकानी हुने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन मङ्गलवार फिर्ता लिएको हो । कंग्रेस नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीले चाल्ने कदम हेरेर मात्रै पार्टीले निर्णय लिने बताउनुभयो । उनले भने, ‘माओवादी केन्द्रसँग हाम्रो कुरा भइसकेको छ । सरकारको नेतृत्व लिएका प्रधानमन्त्रीले राजीनामा वा अन्य कदम के चाल्नुहुन्छ । त्यसैका आधारमा हामी अर्को निर्णय लिन्छौं ।’ सरकारको नेतृत्वका बारेमा कंग्रेस खुला रहेको उहाँले उल्लेख गरे । तत्कालका लागि सहमतीय सरकार गठनको सम्भावना कम रहेको भन्दै उहाँले बहुमतीय सरकारलाई पनि दुई तिहाइभन्दा बढीको समर्थन प्राप्त गराउनेतर्फ कांग्रेस लाग्ने जनाए । श्रोतः ईकान्तिपुर