राजविराज, २७ असार । नागरीकसँगको सम्बन्ध सुधार तथा हिंसा एवम् सामाजिक विकृति विरुद्ध सोमवारदेखि ‘प्रहरी मेरो साथी’ अभियान सप्तरी प्रहरीले सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको आह्वानमा सदरमुकाम राजविराजमा बृहत रयाली आयोजना गरियो । स्थानीय गजेन्द्र चौकबाट हज्जारौंको सहभागितामा निकालिएको र्याली नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।
बाल विवाह, दहेज प्रथा, हिंसा तथा अपराध विरुद्ध नाराहरु लेखिएको प्ले–कार्ड बोकेका सर्वसाधारणले नारा लगाउँदै सन्देश प्रवाह गरेका थिए । बाजागाजा तथा विभिन्न जातजातीको परम्परागत पहिरणमा निकालिएको र्याली जिल्ला प्रहरी कार्यालय पुगेर सभामा परिणत भएको थियो ।
जुलुसमा राजनीतिक दलका प्रतिनीधि, आन्दोलनरत मधेशी मोर्चाका नेताहरु, युवा, विद्यार्थी, मजदुर, उद्योगी, व्यवसायी, मानवअधिकारकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, कानूनब्यवसायी, सामाजिक तथा धार्मिक संघ संस्थाका प्रतिनिधि समेतको सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा अभियानको उदेश्यबारे प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए । अभियान नागरिकमैत्री रहेर अपराध न्युनिकरणका साथै सामाजिक विकृति विसङ्गती विरुद्ध सशक्त रुपमा कदम चाल्ने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीश कुमार चुडालले समाजमा प्रहरी नै मेरो साथी हो भन्ने महसुस गराउन अभियानले महत्वपुर्ण योगदान पुग्नेमा आफू आशावादी रहेको बताए । वरिष्ठ प्रहरी उपरीक्षक उत्तम बहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यव्रmममा प्रमुख जिल्ला अधिकार बलदेव गौतम, कृष्ण दल गण भलुवाही ब्यारेकका गणपति भुवनेश्वर आचार्य, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुमन वैद्य, सशस्त्र प्रहरी बलका एसपीद्वय जनक बोहरा र दमन थापा, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण देव, उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश यादव, नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, नेकपा माओवादी केन्द्रका असर्फी सदा, मधेशी मोर्चाका सतिश सिंह लगायतले अभियानको सफलताको कामना गरे ।

