राजविराज, २६ असार । वर्षौ अघि सप्तरीको धनगढी गाविस सचिवबाट अवकास प्राप्त गरेका महेन्द्र प्रसाद चौधरीले अहिलेसम्म पेन्सन पट्टा बनाएका छैनन् । तरही गाविस सचिव समेतको जिम्मेवारीमा रहेका उनले अवकासप्राप्त गरे पनि बरबुझारथ नगरेका कारण पेन्सन सुविधाबाट हालसम्म बञ्चित हुनु परेको हो ।
महेन्द्र प्रसाद मात्र होइन, कविलासाका सचिव मखनलाल सरदार, मलेकपुरका चन्द्रशेखर साफी, बसवलपुरका गाविस सचिव हरिलाल चौधरी वर्षौं अघि रिटायर भए पनि बरबुझारथ नगर्दा उनीहरुको समेत पेन्सन पट्टा बनेको छैन । जिल्ला विकास समितिका अनुसार सप्तरीमा यसरी बरबुझारथ नगर्ने सचिवहरुको फेहरिस्त लामो छ ।
एउटा गाविसबाट सरुवा भई अर्कोमा जाँदा पहिलो गाविसको बरबुझारथै नगरी काम गर्न छुट दिएको कारणले यस्तो विकृति बढेको जिल्ला विकास समितिकै कर्मचारीहरु बताउँछन् । जिल्ला विकास समितिको प्रशासन फाँटका अनुसार पटक–पटक गरी सात ओटा गाविसको जिम्मेवारीमा बसेर पनि कुनैको बरबुझारथ नगरेर पनि गाविस सचिव अवकासप्राप्त भएका छन् ।
बरबुझारथ नगरेका सचिवलाई अर्को गाविसको जिम्मेवारी दिनबाट रोकिए पनि आफूभन्दा माथिका अधिकृतको दवावमा प्रशासन फाँटलाई बाइपास गरेर नयाँ गाविसमा जिम्मेवारी दिईएका कारण जिविसमा आर्थिक विकृति बढेको जिविसका एक अधिकृतले बताए । उनले भने ‘विकृती रोक्नकालागि सिस्टममा काम गर्नु जरुरी हुन्छ, तर यहाँ स्वार्थकालागि सिस्टम बिगारेर काम गर्दा जिविसमा अनियमितता बढ्दै गएको छ ।’
जिल्ला विकास समिति सप्तरीमा १५ करोड भन्दा बढी बेरुजुु रहेको र आर्थिक अनुशासनको पालना नहुँदा अवस्था भद्रगोल रहेको नाम नछाप्ने शर्तमा एक कर्मचारीले बताए । ‘रुन्दीलाल यादवलाई विगतमा पनि चार्ज नबुझाएको आरोपमा कार्वाही भएको थियो’ उनले भने ‘अहिले उनैलाई मानराजा, रामनगर र ब्रहम्पुरसहित तीनतीन ओटा गाविस सचिवको जिम्मेवारी दिईएको छ ।’
जिल्ला विकास समितिका योजना अधिकृत धीरेन्द्र कुमार यादवले चार्ज नबुझाउने गाविस सचिवलाई कार्वाही हुन नसकेको कुरा स्वीकार्दै आफूहरु त्यस्तालाई आईन्दा जिम्मेवारी नदिने तयारीमा रहेको बताए । उनले भने ‘हामी यसबारे तयारी गर्दैछौ, चार्जन नबुझाउनेलाई कडा कार्वाही हुने छ ।