राजविराज, २५ असार । मलेकपुर गाविसका ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने गाविस सचिव प्रदीप कर्णलाई प्रहरीले शनिवार पक्राउ गरेको छ ।
चार महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि जिल्ला विकास समिति सप्तरीले कर्णलाई निलम्बन गरी पक्राउ गर्न प्रहरीलाई समेत आग्रह गरेपछि उनी शनिवार पक्राउ परेको जिविसका योजना अधिकृत धीरेन्द्र कुमार यादवले जानकारी दिएका छन् । सचिव कर्णले २३ लाख ९५ हजार अघिल्लो किस्ताको रकम वितरण नगरी फरार रहेको कारण पक्राउ गरिएको यादवले बताए ।
यता मलेकपुर गाविसका बृद्धबृद्धाहरुले आफूहरुले सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै शुक्रवार जिल्ला विकास समितिका पदाधिकारीहरुसँग भत्ता उपलब्ध गराउन माग गरेका थिए । करिब पाँच किलोमिटर पैदलै हिँडेर सदरमुकाम पुगेका उनीहरुले आफूहरुले पाउनुपर्ने बृद्ध भत्ताको रकम उपलब्ध गराईदिन माग गर्दै जिल्ला विकास समिति घेराउ समेत गरेका थिए ।