राजविराज, २२असार । सुनौला हजार दिन कार्यक्रम अन्तर्गत सप्तरीको त्रिकौल गाविस वडा नम्बर ६ र ७ का किशोरीहरुलाई मङ्गलबार एक कार्यक्रमका बीच सामग्री वितरण गरिएको छ ।
त्रिकौल गाविसस्थित धनपुरी टोलमा आयोजित कार्यक्रममा सुनौला हजार दिन कार्यक्रमका जिल्ला संयोजक रमेश कुमार यादवले वडा नम्बर ६ की कक्षा–९ मा अध्ययनरत सुनिता सदालाई व्याग, डटपेन, कपी, पोशाकलगायतका सामग्रीहरु प्रदान गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । उनले विद्यालय जाने उमेरका किशोरीहरुलाई लक्षित गरी सुनौला हजार दिन कार्यक्रम अन्तर्गत यस्ता सामग्री वितरण गरिएको बताए ।
किशोरीहरुलाई शिक्षाप्रति आकर्षण जगाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । टोली संयोजक चन्द्रकला देवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा दुवै वडाका ३०–३० किशोरीहरुलाई सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्री र पोशाक समेत पाएपछि चुमनहरी जनता मा.वि. मैनाकडेरीमा अध्ययनरत ती किशोरीहरुले खुशी व्यक्त गरेका छन् ।