वीरगञ्ज, २१ असार । नेपाली कांग्रेसका सांसद अनिल रुङ्गटाले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत आफनो संसदीय विकास कोषबाट वीरगंजको नारायणी उपक्षेत्रिय अस्पताल एवम फरक क्षमता भएका व्यक्तिहरुलाई विभिन्न मेडिकल उपकरणहरु प्रदान गरेका छन् ।
नारायणी उपक्षेत्रिय अस्पताल परिसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले १० जनालाई तीन पांग्रे व्हिल चेयर तथा अस्पताललाई अनलाईन युपिएस, ओटी लाईट, इलेक्ट्रिोनिक ड्रिल र इसिजी मेसिन लगायतका रु. ६ लाख बराबरको सामानहरु प्रदान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका रिजालले गरीबहरुको उपचार केन्द्रको रुपमा रहेको नारायणी उपक्षेत्रिय अस्पतालको अवस्था दिन प्रति दिन बिग्रिदै गएको समाचारले आफुहरुको ध्यान केन्द्रित भएको बताए ।
अर्का केन्द्रीय सदस्य अजय चौरसियाले नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सकहरु क्लिनिकमुखी भएको र अस्पतालमा सेवा नदिएको गुनासो आएको हुँदा यसतर्फ चिकित्सकहरु गम्भिर हुनुपर्नेमा जोड दिए । नारायणी उप–क्षेत्रिय अस्पताल विकास समितिका अध्यक्ष रामदेव तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद अनिल रुङ्गटा, पूर्व सांसद अजय द्विवेदी, नेपाल नेत्र ज्योति संघका महासचिव श्याम पोखरेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बञ्जारा, मध्यमाञ्चल संयोजक शितल महतो, नेपाल प्रेस युनियन पर्साका निवर्तमान सभापति पुरुषोत्तम सिंह भट्टराई, नेपाली कांग्रेस पर्सा क्षेत्र नम्वर १ का सभापति विजय सर्राफ, क्षेत्र न. २ का सभापति अरविन्द गुप्ता, नगर सभापति भोला साह कलवार, पुर्व नगरसभापति महम्मद सहाबुद्दिन, नारायणी उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरिक्षण यादव, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रिय सदस्यहरु, संचारकर्मी समेतको सहभागिता रहेको थियो ।