वीरगञ्ज, १९ असार । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष एवं सांसद लालबाबु राउत गद्दीले आफनो संसदिय कोषबाट चिनिमिल पिपरा स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा दुई थान कम्प्युटर सहयोग गरेका छन् ।
विद्यालयको सभाहलमा आयोजित कम्प्युटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गद्दीले स्थानिय स्तरमा रहेका सामुदायिक बिद्यालयमा न्युन आर्थिक स्रोत भएका व्यक्तिहरुको छोराछोरी पढ्ने भएको हुनाले उनीहरुको स्तर बढाउन सवैले आ आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । प्रमुख अतिथी समेत रहेका गद्दीले जिल्लामा सिद्धार्थ स्कुलको छुट्टै पहिचान रहेको भन्दै मधेसकै नमुना बिद्यालयको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
एक फरक प्रसंगमा अधिकार प्राप्तिको लागि भईरहेको आन्दोलनबाट अधिकार नमिलेसम्म आन्दोलन जारी रहने र हाल आन्दोलनको स्वरुप मात्र परिर्वतन गरिएको बताए । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले विद्यार्थीहरुको शिक्षासँग कुनै किसिमको सम्झौता नगरिने र गुणस्तरीय शिक्षाका लागि आफु र आफनो पार्टीले गर्ने सहयोग जारी रहने बताए । खास गरी शिक्षाको पहँुच बाट छात्राहरु बढी मात्रामा पछाडि परेकोले छात्राहरुको शिक्षामा पहुँच बढाउनको लागि आफुले जस्तो सुकै सहयोग गर्ने र गराउने बाचा गरे ।
बिद्यालय सहयोग समितीका सदस्य शिवशंकर प्रसाद कुर्मीले सिद्धार्थ स्कुललाई नमुना बिद्यालय बनाउने र बिद्यालयको भौतिक संरचनासँगै अन्य स्रोत साधनका लागि पहल गर्ने बताए । केही गलत तत्वहरुले विद्यालय विकासको बाधक रहेको हुनाले त्यसता तत्वहरुलाई तह लगाउँदै विद्यालय बिकासका लागि आफनो तर्फबाट खेल्नुपर्ने भुमिकामा प्रतिवद्ध रहेको बताएका थिए । बिद्यालय पढ्ने बेलामा बिद्यार्थीहरुले राजनितीतर्फ ध्यान केन्द्रित गर्नु भन्दा पनि उच्च शिक्षा हासिल गरेर राजनिती गरे बेस होला सुझाव दिए ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक राजेश पाण्डे, सहायक प्रधानाध्यापक राजेश गुप्ता, शिक्षिका शशीलता गिरी, शिक्षकहरु अजय यादव, राधेश्याम राय ,ऋषिदेव पंडित, संघीय प्रेस फोरमका केन्द्रीय सहकोषाध्यक्ष सन्तोष पटेल, फोरम नेपाल पर्साका जिल्ला सदस्य दिपक यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई जिल्ला प्रवक्ता सलाउद्दिन अहमदले सहजीकरण गरे ।