• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेशी मोर्चाको रिले अनसन दोस्रो दिन पनि जारी

मधेशी मोर्चाको रिले अनसन दोस्रो दिन पनि जारी

राजविराज, १९ असार । राज्य पक्षले आन्दोलनरत पक्षको माग सम्वोधन गर्न वेवास्ता गर्दैआएका कारण सप्तरी जिल्लामा अनिश्चितकालिन रिले अनसनलाई निरन्तरता दिईएको छ ।

सङ्घीय गठबन्धनको आह्वानमा जिल्ला स्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा रिले अनसनलाई निरन्तरता दिएका हुन् । मोर्चाको दोस्रो दिनको रिले अनसन तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला अध्यक्ष रामप्रित यादवको नेतृत्वमा बसेको संघिय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले बताए ।
उनका अनुसार दोस्रो दिनको रिले अनसनमा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, मधेशी जन अधिकार फोरम गणतान्त्रिक जिल्ला उपाध्यक्ष जुगेश्वर मण्डल, सद्भावना पार्टीका कार्यसमिति सदस्य भोगेन्द्र मण्डल, तराई मधेश सदभावना पार्टीका जिल्ला सदस्य मो. सलिम, संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष प्रशुराम यादव र नेपाल सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष जगत पैकरा सहभागी भएका छन् । मधेशीलगायत आदिवासी, जनजाती एवम् शोषित उत्पीडित जनताको व्यापक सहभागितामा जारी राजधानी केन्द्रित शान्तिपूर्ण आन्दोलनलाई राज्यपक्षले बेवास्ता गरेपछि जिल्लाहरुमा समेत रिले अनसन थालिएको नेता साहले बताए ।
राजविराजमा थालिएको रिले अनसनमा आम जनसमुदायले ऐक्यवद्धता जनाउने क्रम व्यापक रुपमा बढेको सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादवले जानकारी दिए । गठबन्धनको घोषित कार्यक्रम अनुसार सप्तरी जिल्लामा समेत आन्दोलन जारी रहेकोले आ–आफ्नो स्थानबाट सहभागिता जनाउन उनले आग्रह गरे ।
शनिवारदेखि शुरु भएको पहिलो दिनको रिले अनसनमा मधेशी मोर्चा सप्तरीका संयोजक नरेन्द्र यादव, मोर्चाका पुर्व संयोजक एवं सदभावना पार्टीका अध्यक्ष सुनिलकुमार झा, पुर्व संयोजक एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र मण्डल, नेपाल सदभावना पार्टीका अध्यक्ष अमरनाथ मण्डल,तराई मधेश सदभावना पार्टीका अध्यक्ष कपिलदेव यादब,तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला कोषाध्यक्ष विरेन्द्र साह र सङ्घीय समाजवादी फोरम नेपालका विद्यार्थी नेता तारकेश्वर यादवलगायतका नेताहरु सहभागी भएका थिए ।