राजविराज, १८ असार । राज्य पक्षले आन्दोलनरत पक्षको माग सम्वोधन नगरेको भन्दै सप्तरी जिल्लामा शनिवारदेखि राजविराजमा अनिश्चितकालिन रिले अनसन थालिएको छ ।
सङ्घीय गठबन्धनको आह्वानमा जिल्ला स्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा विहान ९ वजेदेखी रिले अनसन थालेका हुन् । मधेशलगायत आदिवासी, जनजाती एवम् शोषित उत्पीडित जनताको व्यापक सहभागितामा जारी राजधानी केन्द्रित शान्तिपूर्ण आन्दोलनलाई राज्यपक्षले बेवास्ता गरेपछि जिल्लाहरु समेत आन्दोलित भएको संघिय समाजवादी फोरम नेपालका राजनीतिक समित सदस्य शैलेन्द्र प्रसाद साहले बताए ।
काठमाण्डौको खुलामञ्चमा गठबन्धनले निरन्तर रिले अनसन जारी राख्दा पनि शान्तिपूर्ण आन्दोलनलाई उपेक्षा गरेको बताउँदै उनले भने ‘६ महिनासम्म निरन्तर कठोर आन्दोलन गर्दा पनि राज्यले आन्दोलनकारीहरुको शान्तिपूर्ण आवाजलाई उपेक्षा गरेपछि बाध्यतावश यो आन्दोलन जिल्लाहरुमा समेत सल्किँदै गएको छ ।’ फोरमका केन्द्रीय नेता साहले शोषित उत्पीडित जनताको आवाजलाई दुनियाँको कुनै पनि शासकले दबाउन नसक्ने बताउँदै हिम्मतकासाथ अधिकारप्राप्तिको आन्दोलनलाई होमिन आग्रह गरे ।
गठबन्धनको घोषित कार्यक्रम अनुसार सप्तरी जिल्लामा समेत मधेशी मोर्चा सप्तरीले रिले अनशनलाई निरन्तरता दिएको उनले जानकारी दिए । उनले भने ‘मधेश आन्दोलनलाई निर्णायक बनाउनकालागि जिल्ला स्थित विभिन्न दलहरुको सहभागितामा गठित मधेशी मोर्चाले संघर्षका कार्यक्रमलाई अगाडि बढाएका छौं ।
शनिवारदेखि शुरु भएको रिले अनसनमा मधेशी मोर्चा सप्तरीका संयोजक नरेन्द्र यादव, मोर्चाका पुर्व संयोजक एवं सदभावना पार्टीका अध्यक्ष सुनिलकुमार झा, पुर्व संयोजक एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र मण्डल, नेपाल सदभावना पार्टीका अध्यक्ष अमरनाथ मण्डल,तराई मधेश सदभावना पार्टीका अध्यक्ष कपिलदेव यादब,तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला कोषाध्यक्ष विरेन्द्र साह र सङ्घीय समाजवादी फोरम नेपालका विद्यार्थी नेता तारकेश्वर यादवलगायतका नेताहरु सहभागी भएका छन् ।