• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विकास निर्माणमा जुटे राधाकृष्ण टोलवासी

राजविराज, २३ जेठ । राजविराज नगरपालिकाको सहयोगमा राधाकृष्ण टोल विकास संस्थाले विकास निर्माण सम्वन्धि कार्यलाई तिब्रता दिएका छन् ।
पुनरावेदन अदालत र वन कार्यालयदेखि खैरसाल सडक जोडने बाटो पक्की बनाउनकालागि संस्थाले विभिन्न गतिविधिलाई तिब्रता दिएको हो । वर्षौदेखि जीर्ण एवम् साँगुरो रहेको उक्त बाटोलाई फराकिलो, ढलान, नाला निर्माण तथा टोल उज्यालो कार्यक्रमलाई अगाडि बढाएको राधाकृष्ण टोल विकास संस्था अन्तर्गत गठित सडक फराकिलो समितिका कामेश्वर साहले जानकारी दिए ।
पहिलो चरणमा अतिक्रमित सडकलाई ६ मिटर फराकिलो बनाउने क्रममा उक्त सडकमा पर्ने निजी पर्खालहरु भत्काईसकिएको उनले जानकारी दिए । बाँकी रहेका अतिक्रमणलाई समेत हटाएर अन्य कामहरु थालनी गर्ने तयारी भईरहेको उनले बताए ।
अतिक्रमित सडक पूर्ण रुपमा उकास भईसकेपछि पिसिसी ढलान कार्य, नाला निर्माण र टोल उज्यालो कार्यक्रम तत्काल अगाडि बढ्ने नाला निर्माण समितिका अध्यक्ष कृष्णहरि भट्टराईले जानकारी दिए । सडकको मुखमै रहेको पुनरावेदन अदालत र जिल्ला वन कार्यालयको पर्खाल समेत सडकमा पर्ने भएकोले त्यसलाई समेत भत्काईने तथा पोल समेत सार्ने उनले बताए ।
सम्पूर्ण कार्यहरु राजविराज नगरपालिका कार्यालयको सहयोगमा यसै आर्थिक वर्ष पुरा गरिने लक्ष्य रहेको समितिका सल्लाहकार डा. शिवशंकर यादवले जानकारी दिए । उक्त टोललाई नमूना बनाउने संकल्पका साथ समितिहरुले काम गरिरहेको उनले बताए ।
यता सडक फराकिलो पार्ने क्रममा बिना जानकारी आफूहरुको पर्खाल तथा ढोका भत्काएको भन्दै घरधनीहरुले उक्त कार्यको विरोध गरेका छन् । बिना जानकारी डोजर प्रयोग गरेर लाखौं रुपैयाँको क्षति गरेको तथा कसैलाई काखा र कसैलाई पाखा गरेको भनी गम्भीर आपत्ति जनाएका छन् ।
राजविराज नगरपालिकाको डोजर प्रयोग गरेको शनिवार उक्त सडकमा पर्ने दर्जन बढी व्यक्तिहरुको पर्खाल र ढोका भत्काएर सडक फराकिलो पारिएको छ ।