राजविराज, ११ जेष्ठ । सन २०१६ भित्र सप्तरीलाई खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य विफल हुने निश्चित भएको छ ।
राजविराज नगरपालिकाले चालु आर्थिक वर्षमा यस विषयमा कुनै पनि गतिविधि नगर्ने भएपछि उक्त लक्ष्य विफल हुने भएको हो । दातृ संस्थाहरुले खुल्ला दिसामुक्त घोषणा कार्यक्रमका लागि सहयोग नदिएको तथा नगरपालिकामा बजेटको अभाव भएको भन्दै खुला दिसामुक्तसँग सम्वन्धित कार्यक्रम अगाडि बढाउन नसकिएको कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्गले वताए ।
१० वटा वडा भएको नगरपालिकामा खुल्ला दिसा मुक्त घोषणा अभियान अन्तर्गत वडा नम्वर २, ६, ७, ८ र १० मा विगत चार वर्षदेखि कार्यक्रम हुँदै आएको नगरपालिकाका सुचना अधिकारी प्रफुल्ल कुमार श्रेष्ठको भनाई छ । कुल ६ हजार ७ सय १८ घरधुरी रहेको नगरपालिकामा १३ दशमलव ५२ प्रतिशतमा अहिले पनि शौचालय छैनन् ।
खुला दिसा मुक्त घोषणाका लागि हालसम्म करिव अढाई करोड खर्च भईसकेको भएपनि अहिले कार्यक्रम नराखिएपछि उक्त लगानी पनि उपलब्धि विहिन बन्न पुगेको स्थानीयवासिन्दाहरुको भनाई छ ।
यसबारे जिल्ला सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव तथा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र कुमार यादवले नगरपालिकाले खुल्ला दिसामुक्त अभियानका लागि कार्यक्रम नै नराखेकोप्रति आश्चर्य व्यक्त गरे । जिल्ला अन्य नगरपालिकाहरुमा तीब्र रुपमा अभियान जारी रहेको भन्दै राजविराज नगरपालिकाको विषयमा समेत दातृ निकायसँग पहल गर्ने उनले बताए ।