• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनता मावि औरहीमा ३२ लाखको लागतमा चार कोठे भवन बन्ने

जनता मावि औरहीमा ३२ लाखको लागतमा चार कोठे भवन बन्ने

राजविराज, ९ जेठ । वर्षौदेखि कोठाको अभाव भोग्दैआएको सप्तरीको औरही गाविस–७ स्थित जनता माध्यमिक विद्यालयमा चार कोठे भवन बन्ने भएको छ ।
सप्तरी क्षेत्र नम्वर–४ का सांसद ताराकान्त चौधरीले आइतवार एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । कुल ३२ लाखको लागतमा निर्माण हुने उक्त भवनको काम पुरा भएपछि थोरै भए पनि राहत मिल्ने प्रधानाध्यापक विरेन्द्र कुमार यादवले बताए ।
कोठा अभावका कारण कक्षा १ देखि ४ सम्मका बालबालिकालाई बाह्रै महिना रुखमुनि पढाउनु परेको बिवशता सुनाउँदै उनले वर्षा भएको बेला पठन–पाठनमा समस्या हुने गरेको बताए । विद्यालयमा अहिले १० ओटा कोठा रहे पनि एउटामा कार्यालय, एउटामा छात्रावास र एउटामा स्टोर राखेको कारण कोठा अपुग भएको प्रधानाध्यापक यादवको भनाइ छ ।
भवनको सिलान्यास समारोहमा सांसद ताराकान्त चौधरीले ग्रामिण भेगका विपन्न तथा दलित बालबालिकाको बाहुल्य रहेको यस विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसुनदेव पासवानले सदरमुकामबाट टाढा रहेको उक्त विद्यालयलाई सुविधासम्पन्न बनाउन आवश्यक रहेको बताए ।
जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले विद्यालयमा श्रोत साधनलगायतको सहयोग उपलब्ध गराइने बताए । उक्त अवसरमा सांसद चौधरी, जिल्ला शिक्षा अधिकारी भट्टरार्ई, नेपाल शिक्षक महासंंघका अध्यक्ष फुलेश्वर कुमार मण्डल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष परशुराम यादव, श्रोत व्यक्ति दामोदर ठाकुर, जग्गादाता हरि प्रसाद यादवलाई दोसल्ला ओढाई सम्मान गरियो ।