राजविराज, ८ जेठ । सप्तरीको राजविराज–कुनौली सडक विगत २० वर्षदेखि अलपत्र अवस्थामा रहँदा यसको निर्माण एवम् मर्मत सम्भार हुन नसक्दा सर्वसाधारण जनताले सास्ती व्यहोर्न बाध्य भएका छन् ।
मर्मत सम्भारको अभावसँगै अतिक्रमणका कारण यो सडक अति जीर्ण रहेका कारण सर्वसाधारण जनतालाई आवत–जावतमा समेत समस्या भएको हो । भारतको विहार राज्य सुपौल जिल्ला स्थित कुनौली जोड्ने राजविराजबाट कुनौलीसम्म जाने सडक ठाउँ–ठाउँमा भत्केका कारण यातायात सञ्चालनमा समेत भएको छ । समान्य वर्षा हुँदा पनि सडकमा भएका खाल्टाहरुमा पानी जम्नुका साथै हिलाम्मय हुने गरेको छ ।
बाटो सहज नभएका कारण व्यापारीक मालसमान आयातमा समेत समस्या भइरहेको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानले बताए । राजविराजदेखि २ किलो मिटर उत्तरतर्फ गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र रहेको तर भारतीय नाकाको सवैभन्दा नजिक पर्ने राजविराज–कुनौली सडक अवरुद्ध रहनाले त्यसको प्रभाव औद्योगिक क्षेत्रमा समेत परेको उनले जानकारी दिए ।
कुनौली नाकाको विकल्पमा विराटनगर स्थित जोगवनी नाकाबाट मालसमान, कच्चा पदार्थ आयात गर्नुपर्दा ढुवानी खर्च बढ्ने गरेको औद्योगिक क्षेत्रका उद्योगपतिहरुको भनाइ छ । राजविराज विमान स्थल तथा पूर्वाञ्चलको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवति मन्दिर नजिक रहेको भएपनि यस सडकको दुरावस्था देख्दा साह्रै दुख लाग्ने गरेको कुनौलीको छिमेकी गाविस तिलाठीका निर्वतमान अध्यक्ष दिनेश्वर मिश्रले बताए । उनले भने–‘केहि दशक अघिसम्म यहि बाटो भएर झापादेखि सिरहासम्मका मानिस भारतको दरभङ्गा, पटना लगायतका सहरमा जाने गर्थे, तर अहिले अवस्था लथालिङ हुँदा कसैको पनि ध्यान पुग्न सकेको छैन ।’
चुनावको समयमा राजविराज–कुनौली सडक बनाइदिने प्रतिवद्धता जनाएर पनि काम चाहि सिन्कोसम्म नभाचिएको मिश्रले आक्रोश व्यक्त गरे । सप्तरी जिल्लाकै विकासको ढोका खोल्ने यस महत्वपूर्ण सडकको सिघ्र स्तरोन्नति हुनुपर्ने बताउँदै मिश्रले भने ‘सप्तरी जिल्लाको विकास नहुनुको कारण राजविराज–कुनौली सडक वर्षौंदेखि जीर्ण रहनु हो, वर्षायाम शुरु नहुँदै बाटो हिँड्न समेत समस्या भएको छ ।’
भारततर्फ कुनौलीमा समेत भन्सार रहेको कारणले करिब ११ किलो मिटर यस सडकको अवस्थामा सुधार ल्याए व्यापार व्यवसाय, उद्योग–धन्धा समेतमा गति आउने नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताए । उनले भने ‘राज्यकै उपेक्षाका कारण राजविराज–कुनौली सडक बन्न सकेन, ठूला–ठूला भाषण गर्ने नेताहरु धेरै भए तर काम गरेर देखाउने कोही भएन ।’
खाँडो, महुली, जिता लगायतका नदिको पानीले सडक ठाउँ–ठाउँमा भत्केको, पुल पुलेसाको मर्मत सम्भार नभएको कारण हिउदँमा पनि यातायात सञ्चालन हुन नसकेको सगरमाथा यातायात संघका अध्यक्ष नुरुलहोदा अन्सारीले बताए । वर्षौदेखि जिल्लावासीले आवाज उठाउँदा पनि हालसम्म सुनुवाई नभएको भन्दै उक्त सडकमा सहज रुपमा मोटरसाइकल र साइकल समेत चल्न सक्ने अवस्था नरहेको उनले गुनासो गरे ।