काठमाडौ, ८ जेठ । सिंचाई मन्त्री उमेशकुमार यादवले नाकाबन्दीमो ट्रक व्यवसायीहरुले धैर्यता देखाएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
ट्रक यातायात व्यवसायी संघ नेपालले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि यादवले धन्यवाद दिएका हुन् । संकटको बेला सहयोग गर्ने नै महान हुने गरेको भन्दै नाकाबन्दी र भूकम्पको बेला देखाएको धैर्यता प्रशंसनसीय रहेको बताए । संकटको बेला सहयोग गर्नु सबैको कर्तव्य भएको बताउँदै उनले संकटको बेला सहयोग नगर्ने राष्ट्रवादी नहुने धारणा व्यक्त गरे ।
एमाओवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री यादवले देशमा संकट नटरेको उल्लेख गर्दै संकटलाई सामना गर्न तयार रहन व्यवसायीहरुलाई आग्रह गरे । उनले देशी विदेशी सम्राज्यवादीहरुको आँखा नेपालप्रति कायमै रहेकाले सतर्क रहन समेत आग्रह गरे । ‘देश सबै समस्याबाट मुक्त भएको कुरा वहियात हो’ उनले भने ‘सविधान निर्माणको चुनौति कायमै रहेकाले यसमा सबैको सहयोग आवश्यक छ ।’
ट्रक व्यवसायीले उठाउँदै आएको पार्किङ्गको समस्या बारे आफूले सरकारको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने बताए । ट्रक व्यवसायीको कतिपय समस्या नीतिगत रहेकाले त्यसका लागि वर्तमान सन्दर्भमा नीति नियम पनि संशोधन गर्नुपर्ने उनले बताए । ट्रक व्यवसायीहरुले ट्रकका लागि कतै पार्किङको व्यवस्था नरहेकाले उचित ठाउँमा पार्किङ्गको व्यवस्था माग गर्दै प्रधामन्त्री र गृहमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।