राजविराज, २८ वैशाख । लामो समय पश्चात मित्रराष्ट्र भारत सरकारका प्रतिनीधि मङ्गलवार सप्तरी सदरमुकाम राजविराज आउन लागेका छन् ।
नेपाल–भारत मैत्री संघ र अर्बुद रोग निवारण संस्थाको संयुक्त आयोजनामा हुन लागेको पाठेघर तथा स्तन क्यान्सर सम्वन्धि स्वास्थ्य शिविरको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा नेपाल स्थित भारतीय दूतावासका मिसन उप–प्रमुख (डिपुटी चिफ अफ मिसन) विनय कुमार सप्तरी आउन लागेका हुन् । मिसन उप–प्रमुखसँगै भारतीय दूतावास क्याम्प अफिस विराटनगरका प्रमुख पिके चालियालगायतका उच्च स्तरीय टोली सप्तरी आउन लागेको संघका सप्तरी अध्यक्ष मनोज मुन्धडाले जानकारी दिए ।
टोलीले बहुचर्चित कोशी व्यारेजको निरीक्षण गर्नुका साथै भारतीय सहयोगमा निर्मानाधिन कन्या छात्रावास र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको निर्माणाधीन आकस्मिक भवनको समेत निरीक्षण गर्ने जनाईएको छ ।