वीरगञ्ज, २८ वैशाख । सामाजिक कुप्रथाको रुपमा रहेका बाल विवाह एवम् दाइजो अन्त्यको लागि परिवार तथा समाजमा विद्रोह गरेका बाल विवाह एवम् दाइजो विरुद्धका योद्धाहरुलाई सोमवार वीरगञ्जमा सम्मान गरिएको छ ।
पर्सा जिल्ला प्रहरी कार्यालयका एसपी राजुबाबु श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको उक्त सम्मान कार्यक्रममा यस राष्ट्रिय अभियानका सद्भावना दुत डा. सि.के. सिह र नायिका श्वेता खड्काको विषेश उपस्थिति रहेको थियो । जिल्ला प्रसाशन कार्यालय, जिल्ला विकास समिति, जिल्ला महिला तथा बालबालिका कार्यालय, जिल्ला शिक्षा कार्यालय लगायत विभिन्न सरकारी, गैर सरकारी, सञ्चारकर्मी, समाजसेवी, वितिय संस्थाहरु, किशोरकिशोरीहरु सहित सयौंको सहभागिता रहेको थियो ।
कार्यक्रममा वर्ष २०७२ मा बाल विवाह एवम् दाइजोका विरुद्ध विद्रोह गरेर र नमुना कार्य गरेकोमा सम्मानित हुनेहरुमा रिंकु कुमारी ठाकुर (वीरगञ्ज), जटाधारी वर्णवाल (पर्सा), राम प्रवेश मण्डल (बारा), सायमा खातुन, लिपनी (बारा), डा. रविन्द्र सिंह (पर्सा) रहेका छन् ।
यसैगरी योद्धाहरुको हौसला बढाउने, उल्लेख्नीय सहयोग र योगदान गर्ने रेडियो तराई, वीरगंज, माइती नेपाल, माधुरी महतो –पत्रकार), वीरगंज पब्लीक कलेज (पर्सा), बीरेन्द्र बहादुर कुर्मी (वीरगञ्ज), बाराका सुरेश साह, सुरेश मण्डल, अख्तर ई मनसुरी रहेका छन् अभियान संयोजक राजकुमार महतोले जानकारी दिए ।