राजविराज, २८ वैशाख । सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साहले शासकवर्गलाई घुँडा टेकाउन सशक्त आन्दोलन बाहेक अर्को विकल्प नरहेको बताएका छन् ।
संघीय गठबन्धनको केन्द्रीय कार्यक्रम अनुसार सप्तरी सदरमुकाम राजविराजमा मधेशी मोर्चा सप्तरीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सशक्त आन्दोलनको आवश्यकता औंल्याएका हुन् । विगत ६ महिनासम्म कठोर आन्दोलन गर्दा पनि अहंकारी शासकवर्ग मधेशको आवाजलाई उपेक्षा गरेको बताउँदै उनले भने ‘शासकवर्गलाई घुँडा टेकाउन सशक्त आन्दोलन बाहेक अर्को विकल्प छैन, सिंहदरबार घेर्ने आन्दोलनलाई सफल पार्नु जरुरी छ ।’
विरोधसभाका विशिष्ठ अतिथि राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष शेखरकुमार सिंहले शहिदहरुको बलिदानीलाई खेर जान नदिनकालागि गाउँ–गाउँबाट जनता जाग्नुपर्नेमा जोड दिए । मधेशमुक्तिको आन्दोलनमा आ–आफ्नो स्थानबाट सहभागी भई निर्णायक एवम् सार्थक बनाउन आह्वान गर्दै संघर्ष गरेरै अधिकार प्राप्त हुने उनले बताए ।
मधेशी मोर्चा सप्तरीका संयोजक गजेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित विरोधसभामा सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, संयुक्त मधेश आन्दोलन समिति सप्तरीका संयोजक रामगमन साह, नेकपा माओवादीका जिल्ला संयोजक जयप्रकाश यादव, महिला नेतृ विनिता यादव, मोर्चाका निवर्तमान नगर संयोजक उमेश कुमार साह, जितन यादव, सञ्जयकुमार मण्डल, बौवालाल शर्मा, सद्भावना पार्टीका क्षेत्री अध्यक्ष लक्ष्मण यादव लगायतले सम्वोधन गरे ।
यसअघि मधेशी मोर्चाद्वारा निकालिएको विरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । जुलुसमा आन्दोलनरत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।