काठमाण्डौ, २७ वैशाख । नेपाल पुस्तकालय संघको ११ औं साधारण सभा शनिवार त्रिभुवन विश्व विद्यालय केन्द्रीय पुस्तकालय, कीर्तिपुरमा सम्पन्न भएको छ ।
सभालाई शुभकामना दिँदै पुर्व मन्त्री गणेश साहले पुस्तकालय ज्ञानको मन्दिर भएकाले आफू विद्यार्थीकालदेखि नै पुस्तकालयको नियमित पाठक भएको कुरा स्मरण गरे । अर्का वक्ता त्रि.बि. केन्द्रीय पुस्तकालयका प्रमुख जनार्दन ढुङ्गानाले योग्य पुस्तकालयकर्मीले समाजलाई सत्मार्गतिर लग्ने भन्दै पुस्तकालय क्षेत्रको सर्वाङ्गिण विकासकालागि संघ निरन्तर क्रियाशील हुनुपर्नेमा जोड दिए ।
नव निर्वाचित सदस्य चन्द्र नारायण देवले युवावर्गमा भएको अथाह उर्जा र प्रतिभालाई पुस्तकालयको माध्यमद्वारा राष्ट्र निर्माणमा लगाउन सकिने सम्भावनामा जोड दिए । त्रि. बि. केन्द्रीय पुस्तकालयका प्रमुख जनार्दन ढुङ्गाना, केशर पुस्तकालयका प्रमुख उप–सचिव दशरथ मिश्र, त्रिविका सह–लाइब्रेरियन पूर्णलाल श्रेष्ठ, नव निर्वाचित सदस्य चन्द्र नारायण देव लगायतले मन्तव्य व्यक्त गरे ।
संघका साधारण तथा आजीवन सदस्यहरुको भेलाले अध्यक्ष डा. अशोक थापाको नेतृत्वमा १२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्ष मार्टिन चौतारीका पुस्तकालय अधिकृत रमेश निरौला र महासचिवमा राष्ट्रिय योजना आयोगका लाइब्रेरियन श्रीनारायण झा, सदस्यमा चन्द्रनारायण देव, डुकहरि निरौला लगायतका व्यक्तिहरु निवार्चित भएका छन् । संघ २०३७ सालदेखि क्रियाशील गैर नाफामूलक संस्था हो ।