• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीसहित देशैभरी ट्राफिक सप्ताह शुरु

राजविराज, २६ वैशाख । ट्राफिक सप्ताह २०७३ राजविराजसहित विभिन्न स्थानहरुमा आइतवारदेखि सञ्चालन भएको छ ।
सप्तरीको राजविराज नगरपालिका स्थित रङ्गशालामा भेला भई नगरपरिक्रमा गरिएको थियो । ट्राफिक नियम पालना गर, हेल्मेटको प्रयोग गरौ लगायतका नाराहरु लगाउँदै नगर परिक्रमा गरिएको थियो । र्यालीमा सुरक्षा निकाय, सरकारी कार्यालय, विद्यार्थी, सामुदायिक प्रहरी समेतको सहभागिता रहेको थियो ।
यसैगरी आइतवारै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले उद्घाटन गरेका छन् । सप्ताहको पहिलो दिन वीरगञ्जको घण्टाघरबाट बाजागाजा सहित निकालिएको बृहत र्यालीले नगरको परिक्रममा गरी पुनः घण्टाघरमा आई समापन भएको थियो । बिश्व रेडक्रस दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र नेपाल रेडक्रस सोसाइटी पर्साले संयुक्त रुपमा सप्ताह व्यापी कार्यक्रम गरी भव्य रुपमा मनाउन लागेका छन् ।
रेडक्रस सोसाइटी पर्साका सभापति फुलमहम्द मियाँको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले वीरगञ्ज नगरलाई सभ्य नागरिकको पहिचान एवं पुर्णरुपमा ट्राफिक नियमको पालना गर्नुको साथै अरुलाई समेत गर्न लगाउन आ–आफनो तर्फबाट पहल गर्न सम्पूर्णलाई आग्रह समेत गरे ।
उद्घाटन सत्रको पहिलो दिन घण्टाघरबाट निकालिएको र्यालीमा अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख एसएसपी नारायण सिंह खड्का, प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक भिमबहादुर थापा, नेपाली सेना वरखगण श्रीपुरका प्रमुख सेनानी नारायण बहादुर थापा , ट्राफिक प्रहरी कार्यालय पथलैयाका निमित प्रमुख डिएसपी तोरण बहादुर कार्की, ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक खेम आर्चाय, सामुदायिक सेवा जिल्ला समन्वय समिती पर्साका सह–संयोजक सरोज खड्का सहित निजी तथा सामुदायिक २४ वटा बिद्यालयका बिद्यार्थीहरु, वीरगञ्जमा रहेका सामुदायिक सेवा केन्द्रहरु, विभिन्न संघ संस्थाहरुको आफनो व्यानर सहित सहभागी रहेको ट्राफिक सप्ताह २०७३ का प्रेस संयोजक संतोष पटेलले बताए ।
उद्घाटन सत्रलाई प्रजिअ घिमिरेले रिबिन काटेर व्यालुन उडाई उद्घाटन गरेका छन् भने रेडक्रसका शाखा अधिकृत उदयराज शर्माले सहजीकरण गरे । र्यालीमा नेपाल प्रहरी, सरोकारवाला, नेपाल ज्योतिष परिषद, टेम्पो, नारायणी यातायात, स्वतन्त्र कर्मचारी,बिद्यालयका विद्यार्थीहरु, सामुदायिक प्रहरी एवं पदाधिकारी, रेडक्रसकर्मी,जुनियर एवं युवा सर्कल, कलेजहरु लगायत हजारौं जनसमुदायको र्यालीमा सक्रिय सहभागिता रहेको थियो ।