• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मानव अधिकारमुखि पत्रकारिता तालिम सञ्चालनः ‘सामाजिक रुपान्तरणका लागि ग्रामिणमुखि पत्रकारिता’

मानव अधिकारमुखि पत्रकारिता तालिम सञ्चालनः ‘सामाजिक रुपान्तरणका लागि ग्रामिणमुखि पत्रकारिता’

राजविराज, २५ वैशाख । वर्तमान अवस्थामा पत्रकारिताप्रति आमजनसमुदायको अपेक्षा र विश्वास बढ्दै गएको भन्दै सामाजिक रुपान्तरणकालागि ग्रामिणमुखि पत्रकारिता गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
जागरण मिडिया सेन्टरद्वारा छिन्नमस्ता एफएमको सहकार्यमा शनिवारदेखि राजविराजमा सञ्चालन भएको मानव अधिकारमुखि पत्रकारिता, पत्रकार अनुशिक्षण तालिम उद्घाटन कार्यक्रमका वक्ताहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पत्रकारिता पेशा मर्यादित र सम्मानजनक भएको भन्दै पत्रकारहरुले ग्रामिणमुखि समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । समाजप्रतिका दायित्वलाई कायम राख्दै मानव अधिकारमुखि पत्रकारिताको आवश्यकता औंल्याउँदै उनले भने ‘सामान्य बाहेकको अवस्थामा प्रहरी कार्यालयहरुमा हुँदैआएको पञ्चायती (छलफल)लाई निरुत्साहित गर्दै कसुर अनुसारको कार्वाही गर्न हामी प्रहरीहरु प्रतिवद्ध छौं ।’
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले वर्तमान अवस्थामा सहरमुखि पत्रकारिता गर्ने प्रवृति बढ्दै गईरहेकोले सामाजिक विकृति, विसङ्गती, बेथिति एवम् मानव अधिकारसँग जोडिएका सवालहरुलाई प्राथमिकतासाथ उठाउनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालका सदस्य मुरली प्रसाद यादवले पत्रकारहरुले आचारसंहिता पालना नगर्नुले पत्रकारिता क्षेत्र बदनाम हुँदै गइरहेकोले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णुकुमार मण्डलले ज्ञान, सीप र जाँगरका साथ स्वाभिमानका साथ पत्रकारिता गर्नुपर्नेमा जोड दिए । मिथिला संस्कृतिले डोम, मुसहर, हरिजनलगायतका जातिहरुलाई सम्मान दिए पनि केही एनजिओहरुले सामाजिक संरचनालाई बिगार्न समस्याहरु सिर्जना गरेको उनले दावी गरे ।20160507_091202
सामुदायिक रेडियो छिन्नमस्ता एफएमका संस्थापक अध्यक्ष शैलेन्द्र प्रसाद साहले मधेशी, आदिवासी, दलित, जनजाती, महिला, बालबालिका एवम् अल्पसंख्यकका सवालहरुलाई प्राथमिकताका साथ सम्प्रेषण गर्नुपने आवश्यकता औंल्याए । नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष धीरेन्द्र प्रसाद साहले मानव अधिकारमुखि पत्रकारितालाई सञ्चारकर्मीहरुले समुचित स्थान दिनुपर्नेमा जोड दिए ।
मधेशी दलित विकास महासंघका अध्यक्ष विशेश्वर प्रसाद रजकले सर्वसाधारण जनता न्याय पाउनकालागि प्रहरीमा जाने गरेकोमा कार्यालय हाताभित्रै हुने पञ्चायती(छलफल)का कारण पीडितले न्याय पाउनबाट बञ्चित हुन बाध्य भएको बताए । मानव अधिकार उल्लंघनका घटनाहरु मधेशमा अत्यधिक हुने गरेकोले प्रहरी प्रशासन चनाखो हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस चौतारीका जिल्ला अध्यक्ष नर्मदेव यादव, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, नेपाल पत्रकार महासंघ शाखाकी सह–सचिव सुधा देवलगायतले मानव अधिकारमुखि पत्रकारिता हुनुपर्नेमा जोड दिए । छिन्नमस्ता एफएमका प्रवन्धक शिवप्रताप साहको अध्यक्षतामा आयोजित पत्रकारिता तालिमको उद्घाटन शत्रमा तालिमको उद्देश्यबारे जागरण मिडिया सेन्टरका शिवहरि ज्ञवालीले प्रष्ट्याए । कार्यक्रम सञ्चालन एफएमकी कार्यक्रम प्रस्तोता प्रिया सिंह थारुले गरिन् ।
तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । उक्त तालिमको प्रशिक्षकमा एकल शिलवाल, शिवहरि ज्ञवाली, श्यामसुन्दर यादव, श्रवण देव र राजु विश्वकर्मा रहेका छन् ।