राजविराज, २४ बैशाख । सद्भावना पार्टीको भ्रातृ सङ्गठन विद्यार्थी मञ्चको केन्द्रीय समितिको विस्तारित दुई दिने बैठक शुक्रबारदेखि राजविराजमा सुरु भएको छ ।
मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतामा सुरु भएको विस्तारित बैठकको उद्घाटन समारोहमा सद्भावना उपाध्यक्ष नवल किशोर साहले मधेशको अधिकार प्राप्तिको लागि विद्यार्थी मञ्चलाई सशक्त एवम् सुदृढ बनाउन आग्रह गरे । विद्यार्थी शक्ति जस्तो सुकै तानाशाहलाई झुकाउन सक्ने जिकिर गर्दै उनले मञ्चको बैठको सफलताको शुभकामना दिए ।
बैठकको उद्घाटन समारोहमा पार्टी प्रवक्ता सन्तोष मेहताले सङ्गठनलाई उदाहरणीय बनाउनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य दिपेन्द्र चौधरीले कुनै पनि पार्टीको मेरुदण्ड विद्यार्थी संगठन भएकोले पार्टी भन्दा विद्यार्थी संगठन मजबुत हुनुपर्ने बताए ।
बैठकमा केन्द्रीय सदस्यहरु विशेश्वर रजक, दिनेश यादव, पार्टीका नेता सत्यनारायण यादव, युवा नेता जागेश्वर राय लयागतले शुभकामना व्यक्त गरे । विद्यार्थी मञ्चका महा सचिव चन्दन यादवले सञ्चालन गरेको बैठकमा जिल्ला अध्यक्ष शम्भु यादवले स्वागत मन्तव्य व्यक्त गरे ।
समसामयिक राजनीतिक परिस्थीति, नेतृत्व विकास र संगठन निर्माण सम्बन्धमा प्रशिक्षण समेत हुने उत्त कार्यक्रमका प्रशिक्षक प्राध्यापक सुरेन्द्र गुप्ता, सन्तोष मेहता र दिपेन्द्र चौधरी लगायतले प्रशिक्षण दिने सङ्गठनले जनाएको छ । राजनीतिक प्रस्ताव तथा संगठन निर्माण मुख्य एजेण्डा रहने उक्त बैठकमा मधेशका २२ जिल्लाको विद्यार्थीहरुको सहभागिता रहेको जनाईएको छ ।