राजविराज, २४ वैशाख । सप्तरीको दिघवा गाविस वडा नम्वर–४ का अग्नीपीडित परिवारलाई शुक्रवार राहत सामग्री वितरण गरिएको छ ।
सांसद सकलदेव सुतिहारको विशेष पहलमा अग्नीपीडितहरुलाई घर छाउनकालागि जस्ता पाता, कम्बल र नगद सहयोग गरिएको हो । नेपाल–भारत मैत्री समाजको सहयोगमा सांसद शर्माको नेतृत्वमा पुगेको टोलीले राहत सामग्री वितरण गरेका हुन् ।
अग्नीपीडित परिवारहरुलाई १६ थानका दरले जस्ता पाता, कम्बल एक थान र नेपाल बरही कल्याण समाज केन्द्रीय महिला समितिद्वारा नगद एक हजारका दरले उपलब्ध गराएका छन् । नेपाली कांग्रेसका जिल्ला सचिव रामकुमार यादव, सदस्य रामकुमार साह, बरही महिला समाजकी केन्द्रीय अध्यक्ष कमला सुतिहार, समाजका केन्द्रीय कोषाध्यक्ष फेकु शर्मा, हरिनारायण शर्मा, सदस्य सोनावती शर्मा, पूर्व केन्द्रीय सदस्य हरिदेव शर्मा, जिल्ला अध्यक्ष बलराम शर्मालगायतको टोलीले दिघवा पुगेर राहत सामग्री वितरण गरेका छन् ।
राजविराज, २४ वैशाख । सप्तरीको जनता माध्यमिक विद्यालय सितापुर भुर्कीमा श्रोत केन्द्र स्तरीय बैठकमा शुक्रवार विद्यालयका अवकाशप्राप्त प्रधानाध्यापक सिताराम लाल दासलाई औपचारिक रुपमा विदाई गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक दुर्गानन्द चौधरीको अध्यक्षता तथा श्रोत व्यक्ति शंकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा दासलाई डायरी, कलमसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । उक्त कार्यक्रममा श्रोतकेन्द्र अन्तर्गतका विद्यालयहरुको प्रधानाध्यापकहरु दिनेश प्रसाद यादव, उपेन्द्र प्रसाद साह, अखिलेश्वर झा, कृष्णकुमार मण्डल, शैलेन्द्र कुमार लगरवार, श्यामकुमार चौधरी, अशोक कुमार चौधरीलगायत विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मण माझी तथा सञ्चालन अमित कुमार साहले गरे ।