राजविराज, १९ वैशाख । हरुवा चरुवा अधिकार मञ्च सप्तरीको अगुवाइमा आइतवार राजविराजमा १२७औं अन्तराष्ट्रिय मजदुर दिवस मनाईएको छ ।
आफुहरुको ऋण मिनाहा, जमिन सहित पुनस्र्थापना, समान कामको समान ज्याला निर्धारण, हरुवा चरुवा आयोग गठनको माग गर्दै ¥याली समेत प्रदर्शन गरेका हुन् । तीन–तीन पुस्तादेखि जमिनदारको ऋण तिर्न हरुवा बस्दा पनि सप्तरीका कतिपय हरुवा चरुवाहरुको मुक्ति हुन नसकेको हरुवा चरुवा अधिकार मञ्च सप्तरीका उपाध्यक्ष देवलाल रामले वताए ।
राष्ट्रिय भुमि अधिकार मञ्चका पुर्व केन्द्रिय अध्यक्ष वलदेव रामले राज्यले पश्चिमका हलियाको मुक्ति कार्यक्रम ल्याएपनि पुर्व तर्फ तेहि समस्या भएका हरुवा चरुवाहरु पुस्तौदेखि ऋणमा डुवेको वताए । भुमिहिन भएका कारण ऐलानी जमिनमा पुस्तौदेखि झुप्रो बारेर वस्दै आएका आफुहरुलाई गाउँका सामन्त र ठुला भनाउँदाहरुले बेलावखत ठाउँ खाली गर्न उर्दी जारी गर्ने गरेका कारण आफुहरु सधैं त्रासमा वस्नु परेको मौवाहाका हिरालाल पासवानले वताए ।
हलो जोतेर गुजारा गर्दै आएका आफुहरुको अवस्था दयनिय भएका कारण वालवच्चा पढाउन नसकेको ईटहरी विष्णुपुर–७ गोरगामाकी भुमिहिन सितादेवी रायले बताइन् । आफुहरु जस्ता सुकुम्वासीलाई साहुको ऋण मिनाहा गरी सरकारले व्यवसाय सञ्चालन गर्ने ब्यवस्था मिलाउन उनले माग गरिन् ।
हरुवा चरुवा अधिकार मञ्च सप्तरीका सचिव लागेन सदाले हरुवा चरुवा मुक्तिका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएपनि अहिलेसम्म कुनै काम नभएको कारणले मजदुर दिवसको उल्लासले पनि आफुहरुलाई नछोएको बताए ।