राजविराज, १४ वैशाख । सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्चकी महिला विभाग प्रमुख एवम् महिला अधिकार मञ्चकी अध्यक्ष आभा सेतु सिंहमाथि हमला भएको भन्दै विभिन्न संघ–संस्थाले दोषीलाई कार्वाहीको माग गरेको छ ।
विभिन्न सामाजिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध भई महिला अधिकार संरक्षण सम्वद्र्धन गर्दैआएकी उनलाई वैशाख ७ गते बजारबाट राजविराज स्थितको घरतर्फ जाने क्रममा हमला भएको सेकडिहुरफका जंगवहादुर सिंह, महिला अधिकार मञ्चकी ललिता चौधरी, महिला हिंसा विरुद्धको सञ्जालकी प्रभा साह, मधेशी महिला वकालत सञ्जु यादव, महिला सुरक्षा दवाव समूहकी मालती चौधरी, शान्तिकालागि साझा अभियानका सञ्जीव साह, हामी सक्छौ अभियानकी गीता यादव, लोकतान्त्रिक महिला सञ्जालकी अनिता यादव, महिला तथा राजनीति केन्द्रकी रञ्जु साहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
करिब ७.३० बजेको समयमा एउटै मोटरसाइकलमा तीन जना चढेका युवाहरुको समूहले ‘महारानी की जय हो’ भन्दै सिंहलाई किच्ने प्रयास गरेको जनाईएको छ । सामाजिक र न्यायकालागि काम गरिरहेको उनीमाथि जानलेवा हमला भएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । अधिकारकर्मी सिंहको सुरक्षाको व्यवस्था मिलाई घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कार्वाही गर्न राज्यसँग माग गरिएको छ ।