राजविराज, १२ वैशाख । प्रेस चौतारी नेपालका सप्तरी अध्यक्ष नर्मदेव यादवलाई कुटपीट गर्ने पाँच जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
रायपुर गाविस–८ स्थित राजविराज–रुपनी सडकखण्डमा मोटरसाइकल अनियन्त्रित रुपमा चलाएको विषयलाई लिएर भएको विवादको विषयको समाचार संकलन गर्ने क्रममा शनिवार राती उनीमाथि कुटपीट भएको थियो । पत्रकार यादवलाई कुटपीट गर्ने राजविराज– ८ का मिथिलेस यादव, वरहिविरपुर–५ का अनमोल कुमार यादव, राजविराज–९ का दिपक यादव, राजविराज ८ विवेक यादव र विषहरिया–९ का रुपेश कुमार यादवलाई प्रहरीले घटनाको विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच चौतारीका जिल्ला सचिव अनिल पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका दोषीहरुलाई कडा कार्वाही गर्न माग गरेका छन् । अध्यक्ष यादवले प्रयोग गरेको मोटरसाईकल र क्यामरामा समेत क्षतिभएको प्रेस विज्ञप्तिमा उल्लेख छ । स्थानीय युनिक अस्पतालमा उपचार पश्चात बिराटनगर स्थित न्यूरो अस्पतालमा थप उपचारकालागि लगिएको पोखरेलद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।