राजविराज, ९ बैशाख । सप्तरीको विभिन्न गाविसहरुमा सर्वसाधारण जनताबाट ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरि विहीवार सार्वजनिक गरेको छ ।
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरी टोलीले कंचनरुप नगरपालिका ३ स्थित भडाहा गाउँको मुसहर बस्तमिा कुवेत देशको सहयोगमा मुश्लिम सुकुम्वासी आयोग केन्द्र काठमाण्डौमार्फत घर वनाई दिने भन्दै सर्वसाधारणबाट रकम लिईरहेको अवस्थामा प्रहरीले रङ्गेहात दुई जनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक गौरब महतले बताए ।
पक्राउ पर्नेमा सप्तरीको वकधुवा गाविस–७ का ४१ बर्षीया मो. मन्जुर आलम र सोही ठाउँका ३६ बर्षीया मो. याकुव मियाँ रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट पासपोर्ट साइजको २÷२ थान फोटो र घर वनाउँने २ ओटा घरको चित्र सहित सादा पन्नामा भरिदिएको फर्म तथा ठगी गरेको रु.२७ हजार रुपैयाँ बरामद गरिएको प्रहरी निरिक्ष महतले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कंचनपुरका अनुसार पक्राउ परेका दुुवै जनाले कंचनरुप नगरपालिका ३ भडाहा गाउँका ६३ बर्षीया दुखनी देवी सदासहित १६० जनासँग बिभिन्न शिर्षकमा करिब २ लाख ५० हजार भन्दा बढी ठगी गरेका छन । पक्राउ परेका दुबै जना बिरुद्ध ठगी मुद्दा चलाइएको प्रहरीले बताइएको छ ।
यसैगरी सप्तरीको खड्गपुर गाविसका वासिन्दालाई साउदी अरबबाट अफर ल्याएर घरमा एक–एक वटा शौचालय र ट्युवेल व्यवस्था मिलाई दिने भन्दै रकम ठग्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रति घर तीन सय रुपैयाँका दरले उठाउँदै हिडेको अवस्थामा कुशाहा– ६ का २५ वर्षिय सरिफ मियाँलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी टोलीले नियन्त्रणमा लिई उनलाई ठगी मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।