• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘नगरौ विवाहका कुरा जबसम्म हुँदैन बीस वर्ष पुरा’

‘नगरौ विवाहका कुरा जबसम्म हुँदैन बीस वर्ष पुरा’

राजविराज, ८ वैशाख । ‘नगरौ विवाहका कुरा जबसम्म हुँदैन बीस वर्ष पुरा’ भन्ने नाराका साथ प्रहरी र सञ्चारकर्मीहरुलाई बाल विवाह विरुद्ध एक दिवसीय कार्यशाला गोष्ठि बुधवार राजविराजमा आयोजना गरियो ।

सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला बाल कल्याण समिति सप्तरीद्वारा आयोजित कार्यक्रमा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले गरिबी, अशिक्षा र जनचेतनाको अभावमा समाजमा बालविवाहले प्रश्रय पाएको भन्दै ग्रामिण भेगमा जनचेतनामूलक अभियान चलाउनुपर्नेमा आवश्यकता औंल्याए । सामाजिक विकृतिको रुपमा रहेको बाल विवाहलाई जरैदेखि निर्मूल पार्न स्थानीय भाषामा एफएमहरुले सचेतनामूलक कार्यक्रम चलाउनुपर्नेमा जोड दिँदै उनले भने ‘ग्रामिण भेगमा जनचेतना जगाउन एफएमहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ ।
बीस पुरा नभएको अवस्थामा समाजमा विवाह भईरहेको सूचना प्राप्त भएमा कानूनी कार्वाही प्रक्रिया कडाईकासाथ पालना गर्न प्रहरी प्रतिवद्ध रहने उनले बताए । बालविवाहलाई सदाकालागि अन्त्य गर्न समाजका प्रवुद्ध वर्ग सचेत रहनुपर्नेमा प्रजिअ गौतमले जोड दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीषक भीम प्रसाद ढकालले बालविवाहलाई निमूल पार्न पत्रकार र प्रहरी दुवैले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । पत्रकारहरुले सञ्चारमाध्यम मार्फत आँखा देखाउने काम गरे प्रहरीहरु जतिबेला पनि मुभ हुन तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले बालविवाह, यसका असर, कानूनी प्रावधान, प्रहरी र सञ्चारकर्मीहरुको भूमिकाबारे प्रस्तुतिकरण गरेका थिए । सोही अवसरमा बाल कल्याण समितिका सदस्य समेत रहेका प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवणकुमार देव, जिल्ला वाल कल्याण समितिकी परियोजना अधिकृत पूनम चौधरीलगायतले बाल विवाह अन्त्य गर्न आ–आफ्नो स्थानबाट सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।